काठमाडौं । एलईभी सिरिज कम्पनीले पहिलो मोडेलको रूपमा नेपालमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटोको एलईभी ०१ नेपाल भित्रिएको हो। काठमाडौंमा एक कार्यक्रम गरी इभी सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यो इभीमा ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ। यो मोटरले ३०० न्यूटन मिटरको टर्क उत्पन्न गर्छ।

कम्पनीका अनुसार एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ। प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यो इभीमा ब्याट्री प्याक पोजिसन साइड बडिभन्दा अझै माथि रहेको छ। यसको ब्याट्री प्याक र ग्राउण्डबीचकी दूरी २२१ एमएम रहेको छ। एलएस अटो एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ। यसको ब्याट्री प्याक अन्य इभीहरूमा जस्तो बाहिरबाट झुन्डिएको देखिँदैन। ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्री भन्दा ८ प्रतिशतले बढी दक्ष रहेको ग्लोबल समीक्षाले जनाएको छ।
चीनको प्रमुख डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ। यसको ड्याग कोएफिसियेन्ट इलेक्ट्रिक एसयूभीहरूमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ। यो इभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको भनाइ छ ।
प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ। लेदरेट स्टेरिङ ह्वील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्टुमेन्टल क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधाहरू रहेको कम्पनीले जनाएको छ। सुरक्षाका लागि यो इभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रुज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू रहेको पनि कम्पनीको भनाइ छ।
युरो एनक्यापबाट क्र्यास टेस्टमा ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको जनाएको छ। नेक्सन भेन्चरले स्ट्यान्डर्ड एडिसन (एसई) को मूल्य ६१ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसन (सीई)को मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ।
आफैं डिजाइन हाउस समेत भएकाले यो कम्पनीले बनाएका गाडीहरू राइट ह्यान्ड ड्राइभ र लेफ्ट ह्यान्ड ड्राइभ दुवै आप्सनमा एकैसाथ उत्पादन गर्ने जानकारी दिइएको छ । देशव्यापीरूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास नजिकै शोरुम सञ्चालन गरिसकेको जनाएको छ भने अर्को साताभित्र ललितपुरको बालकुमारीबाट पनि शोरूम सञ्चालन गर्ने भएको छ । कम्पनीले काठमाडौंको मनमैजुमा सर्भिस सेन्टर समेत स्थापना गरेको जनाएको छ।
एलएस अटोले सन् २०२५ मा थप दुई मोडेलहरू एलईभी ०३ र एलईभी ०५ लञ्च गर्ने पनि जनाएको छ । यी कारहरू राइट ह्यान्ड ड्राइभ (आरएचडी) र लेफ्ट ह्यान्ड ढाइभ (एलएचडी) दुवै अप्सनमा बन्ने भएकाले छिट्टै नेपालमा आउने कम्पनीको भनाइ छ । एलईभी ०३ एक प्रिमियम क्रसओभर इलेक्ट्रिक एसपूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो।

एलएस अटोका बारेमा
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी हो । कम्पनीले विगत २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता सम्पूर्ण काम (टर्नकी प्रोजेक्ट) गर्दै आएको छ। कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको इभी तयार गरेको हो। संघाइ लन्च अटोमोटिभले चीनमा अटोमोबाइल मात्र होइन, उच्छ गतिमा चल्ने रेत, हेलिकप्टर डिजाइनसम्ममा सहभागिता जनाएको छ।
यो कम्पनीको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्नै कारखाना रहेको छ। कम्पनीले युरोपेली बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्दैछ। कम्पनीले अहिलेसम्म नेपालसहित मौरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तान र अन्य ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ।






















