काठमाडौं । नेपाल व्यवस्थापन संघकाे ४४ औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा उत्कृष्ट व्यवस्थापकहरु सम्मानित भएका छन् । संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘म्यानेजर अफ द इयर’ उर्मिला श्रेष्ठलाई प्रदान गरेको छ । श्रेष्ठले ३७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनमा काम गरेको र सन् २००७ यता प्रमुख कार्यकारी अधिकृत(सिईओ) रहेर कार्य गरिरहेकी छिन् । साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधिकरणमार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पुर्याउँदै आएकाले श्रेष्ठलाई छनोट समितिले ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको हो ।
त्यस्तै ‘वुमन म्यानेजर रिकगनिसन’ अवार्ड स्नेहा राजभण्डारीलाई प्रदान गरिएको छ । राजभण्डारी बोटलर्स नेपाल लिमिटेडको पब्लिक अफेयर्स, कम्युनिकेसन्स र सस्टेनेबिलिटी डाइरेक्टर छिन् । कर्पोरेट सस्टेनेबिलिटी, नियामकीय मामिला तथा लैंगिक समावेशीकरण तथा औद्योगिक सहकार्य र नीतिगत पैरवीका क्षेत्रमा उनले गरेको योगदानस्वरुप यो सम्मान प्रदान गरिएको हो ।

त्यसैगरी संघले पूर्व मुख्यसचिव तथा संघका पूर्व अध्यक्ष डा. विमल कोइरालालाई पनि सम्मान गरेको छ । डा. कोइराला सार्वजनिक नीति तथा प्रशासनिक सुधार एवं पैरवीका क्षेत्रमा क्रियाशील छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मेलन उद्घाट गर्दै अर्थतन्त्रमा सुधारका लागि सरकारले पहल गरिरहेको जानकारी गराए । उनले सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गरिरहेको पनि बताए ।

उक्त अवसरमा पूर्वाधार फाइनान्सिङमा आन्तरिक स्रोत परिचालन विषयमा संघद्वारा तयार पारिएको अध्ययनमा अध्येता कृष्णप्रसाद आचार्यले प्रस्तुतीकरण गरेका थिए भने लगानी बोर्ड नेपालमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र अर्थशास्त्री एवं इन्स्टिच्यूट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) का कार्यकारी निर्देशक विश्वास गौचनले टिप्पणी गरेका थिए ।
छलफल सत्रमा राष्ट्रिय बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाल, कर्मचारी सञ्चय कोषका प्रशासक जीतेन्द्र धिताल, त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र विभागकी पूर्व डीन प्राध्यापक डा. कुसुम शाक्य तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमखु कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी वक्ताका रुपमा रहेका थिए । वक्ताहरुले परियोजना कार्यान्वयनको क्षमता विकास तथा परियोजना पूर्वतयारी
गरी विश्वसनीय र ब्यांकेबल परियोजना तयारीमा जोड दिए । दीर्घकालीन कोष परिचालन गर्ने नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षाकोष, पेन्सन फण्ड र जीवन बीमा फण्डमा साढे १५ खर्ब बराबरको रकम रहेकोमा ठूलो हिस्सा पूर्वाधार (सार्वजनिक र निजी आर्थिक रुपमा सम्भाव्य कुनै पनि परियोजना) मा लगानी गर्न सकिने सम्भावना रहेको पाइएको छ । यसमध्ये ८ खर्ब रुपैयाँ अवकाश कोष (रिटायरमेन्ट फण्ड) मा रहेको र यो कोष हरेक वर्ष विस्तार हुने क्रममा रहेकाले सरकारले लगानीका औजारहरु दिएर उक्त कोष पूर्वाधार विकासमा प्रयोग गर्ने साथै उल्लिखित संस्थाहरुलाई नै स्वपुँजी लगानी र फाइनान्सिङका लागि विश्वसनीय र ब्यांकेबल परियोजनाहरु सरकारले दिनुपर्ने विषयमा छलफल भएको थियो ।

अहिलेसम्म यी कोषबाट औसतमा ८ प्रतिशत मात्र पूर्वाधारमा लगानी परिचालन भएकोमा सबैभन्दा बढी कमर्चारी सञ्चय कोषले १६.५ प्रतिशत ऊर्जा, रियलस्टेट तथा पर्यटन (हवाइ उड्ययन)का क्षेत्रमा लगानी गरेको पाइएको छ भने जीवन बीमा कोषको अत्यन्त न्यून हिस्सा मात्र पर्वूाधारमा लगानी भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहनराज ओझाले
दीर्घकालीन कोष परिचालन गर्ने संस्थाहरुले पोर्टफोलियो विविधिकरण गरी पूर्वाधारमा लगानीमार्फत् मुलुकमा उत्पादन र रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।






















