Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पुस २० मा राष्ट्रिय व्यवसायी महासंघको अधिवेशन हुँदै, सरकारसँग साना व्यवसायीको मागै माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघ ७ औँ वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशन पुस २० मा हुने भएको छ । साधारण सभा एवं अधिवेशनले नेतृत्वसहित ९० पद सर्वसम्मत गराउने तयारी गरिरहेको काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा राष्ट्रिय सभा गृहमा अधिवेशन हुने महासंघले जानकारी दिएको छ । २२ वटा संस्था आबद्ध महासंघले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

साना व्यवसायीको मागै माग

अधिवेशनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महासंघले आफ्ना मागै माग अगाडि सारेको छ । अर्थ, वाणिज्य लगायत मन्त्रालयसम्म राखेको मागको केही भाग पुरा भएपनि धेरै माग पुरा गर्न बाँकी रहेको भन्दै महासंघ अध्यक्ष कुमार कार्कीले साना व्यवसायीका माग अगाडि सारेका हुन् । अनधिकृत चोरी पैठारीका कारण राज्यले राजश्व नपाएको र व्यवसायी मर्कामा परेको भन्दै त्यसलाई नियन्त्रण गर्न महासंघले सरकारसमक्ष माग राखेको छ । त्यस्तै उद्यम, व्यवसाय गर्ने स्थानको वैज्ञानिक भाडादर, प्यानमा कारोबार गरिरहेकाहरुलाई ५० लाखको सीमाबाट बढाएर २ करोड पुर्याउनु पर्ने महासंघको माग छ ।

यसैगरी महासंघले कर चुक्ता प्रमाणपत्र लिएपछि त्यो चुक्ता हुनुपर्ने र त्यसलाई पछि सरकारले खोज्ने काम हुन नहुने, भन्सार घटाएर समय सापेक्ष समायोजन गर्नुपर्ने एवं सही मूल्याङ्कन गर्नुपर्ने, वाणिज्य विभागले दिइरहेको दुःख अन्त्य हुनुपर्ने, ३९ प्रतिशत रहेको आयकरको दर घटाएर २५ प्रतिशतमा सिमित गर्नुपर्ने, घर बहाल कर १० प्रतिशतबाट ५ प्रतिशतमा झार्नुपर्ने, चीनको केरुङको सिण्डिकेट खारेज गरी सहजरुपले सामान लिन जान प्रवेश पासको व्यवस्था गर्न सरकारले पहलकदमी लिनुपर्ने माग व्यवसायीले गरेका छन् । पारवहन सन्धीसमेत भएको अवस्थामा सरकारले यस विषयमा पहलकदमी लिनुपर्ने अध्यक्ष कार्कीले बताए ।

त्यसैगरी स्थानीय सरकारको सिफारिसमा साना उद्यमीलाई बिना धितो सहुलियत ॠण दिने व्यवस्था हुनुपर्ने माग साना व्यवसायीको छ । उनीहरुले अनुदान दिने होइन सहुलियत ॠण दिने व्यवस्था होस् भनेर माग गरेका छन् । सिंहदरबार धाउने कार्यकर्तालाई मात्रै अनुदान दिने अहिलेको परिपाटी अन्त्य गरी सहुलियत ऋणको व्यवस्थातर्फ उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

महासंघले एकद्वार प्रणालीमार्फत व्यवसाय दर्तादेखि सबै काम हुनुपर्ने जोडदार माग गरेको छ । त्यस्तै भ्याटको दर १३ प्रतिशतबाट घटाएर १० प्रतिशत झार्नुपर्ने महासंघको माग रहेको छ ।

महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले यी सबै माग पुरा गराउन व्यवसायीहरु संधै एकताबद्ध भएर अगाडि बढ्ने बताएका छन् ।

महासंघका महासचिव रत्न घिमिरेले आफूहरुका मागको सुनुवाई नभए सडकमा आउन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

महासंघले आगामी नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्ने दाबी गरेको छ ।

 

Health Tips Ad Road Block