काठमाडौं । पछिल्लो तथ्याँकअनुसार देशको कुल विद्युत जडित क्षमता ३२३५ मेगावाट पुगेको छ । त्यसमध्ये निजी क्षेत्रको सहभागीतामा मात्रै २५४८ मेगावाट अर्थात कुल जडित क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन भइरहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) नेपालले चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदानकाक्रममा यो जानकारी दिएको हो ।

यसैगरी ३९४७ मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन र ४५४५ मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको इप्पानले जनाएको छ ।
त्यस्तै १२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरु पीपीएको पर्खाइमा रहेका छन् भने त्यतिनै क्षमताका आयोजनाहरु अध्ययनको विभिन्न चरणमा रहेका छन् । यी आयोजनाहरुको अध्ययनदेखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको र सरकारलाई वार्षिक खर्बौ रुपैयाँ रोयल्टी तिर्दै आएको इप्पानले जनाएको छ ।
गाउँगाउँमा बाटोघाटो, पुलपुलेसा पुर्याउँदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको इप्पानले जनाएको छ ।

५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको ऊर्जा उद्यमीहरुको छाता संस्था इप्पानले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव एवं रजत जयन्ती माघ ४ गते ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ नारासहित मनाउन लागेको पनि जानकारी गराएको छ । २०५७ साल माघ ४ गते इप्पान स्थापना भएको थियो ।





















