काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले छ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरेको छ ।
सोमबारसम्ममा ४ सय २८ माग दाबी कर्ताको आंशिक भुक्तानी पनि भएको छ ।
दुवै गरी हालसम्म कुल १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८ सय ९९ रुपैयाँ समस्याग्रस्त घोषणा भएका २२ सहकारीका ऋणीबाट उठाएर भुक्तानी गरेको समिति कार्यालयले जनाएको छ ।
समितिका अध्यक्ष श्रीमणकुमार गौतमले समस्याग्रस्त तीन वटा सहकारीका पीडितको बचत फिर्ता गरी हिसाब राफसाफ गरेपछि बाँकी १९ वटा समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि काम गरिरहेको जानकारी दिएका छन् । बाँकी १९ वटा सहकारीका ऋणीलाई यही कात्तिक १५ गतेसम्म लिएको ऋण चुक्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरिएको उल्लेख गर्दै गौतमले चुक्ता नगर्ने ती सहकारीका ऋणीको एकाघरका सदस्यको सम्पत्ति, राहदानी तिहारपछि रोक्का गर्ने तयारी भएको पनि बताएका छन् ।






















