काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताएका छन् । गैर आवासीय नेपाली संघको आइतबारबाट शुरु वार्षिक साधारणसभाको दोस्रो दिन सोमबार राजधानीमा आयोजित ग्लोबल कन्केल्भ २०२४ लाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा लागानीका लागि सरकारले सबै वातावरण बनाउने प्रतिबद्धता पनि जनाए । ‘पर्यटन क्षेत्रमा लगानीको वातावरण हामीले बनाइदिन्छौं । संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा सुधार गर्छौं । तपाईहरुले सहयोग गर्नुहोस् । लगानीमैत्री वातावरणको भाष्य बनाउन जरुरी छ । देशभित्र र बाहिरका लगानीकर्तालाई वातावरण दिन जरुरी छ,’ उनले भने ।
साथै उनले अगाडि भने, ‘संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामियक मस्यौदा तयार पारेका छौं । संसदको आगामी अधिवेशनबाट ऐनहरु आउनेछन्,’
नेपाल विविधतापूर्ण संस्कृति र प्रकृति सम्पदाले भरिपूर्ण रहेको र नागरिक उड्डययनका क्षेत्रमा समेत अनन्त सम्भावना रहेको मन्त्री पाण्डेले बताए । ‘आकाश सुरक्षित छ, सूचारु छ भन्ने देखाउनुछ । इयुले असुरक्षित भनेको छ । सुरक्षित, गतिशील, सूचारु आकाश देखाउन सक्याैं भने देशभित्र र बाहिरका पर्यटक आउन सक्छन्,’ उनले भने ।
‘ विश्वका विभिन्न कुनमा रहेको नेपालीहरुको पछिल्लो पुस्तालाई जोड्ने भाषा र संस्कृतिले नै हो । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई अधिकतम उपयोग गर्न सकियो भने नेपालसँग जोडिनुहुन्छ ।’
पर्यटनको क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता सरकारले बोध गरेको उनले बताए । ‘संस्कृति र प्रकृतिको प्रवद्र्धन र आकाश सूचारु गर्ने सम्बन्धमा पनि काम गरिरहेका छौं । सातवटा प्रदेशमा सातवटा ट्वीनेटर विमान सञ्चालन गर्ने भनेर सोचिरहेका छौं,’ उनले भने ।
सो अवसरमा नेपालका भाषा, संस्कृतिलाई विदेशमा प्रवर्द्धन गर्दै आएकी म्यानमार निवासी ८१ वर्षकी भारती लिम्बुनीलाई मन्त्री पाण्डेले सम्मान गरेका थिए ।






















