काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) अभियानभित्र राजनीतिसँगै सरकारी हस्तक्षेपले हैरानी भएको खुलासा भएको छ । संघका अध्यक्ष बद्री केसीले नै यसको खुलासा गरेका हुन् । उनले राजनीतिसँगै सरकारी हस्तक्षेपले गैरआवासीय अभियानमा समस्या आएको बताएका हुन् ।
संघको ग्लोबल कन्केभ तथा साधरणसभामा अध्यक्ष केसीले बारम्बारको सरकारी हस्तक्षेपले सिर्जना भएको समस्या छलफलबाटै समाधान गर्न सकिने पनि बताएका छन् । अध्यक्ष केसीले विश्वभर नेपालको राम्रो छवि बनाउने काम एनआरएनएले गरिरहेको दाबी गरे । विश्वका ११५ बढी देशमा पुगेर नेपाललाई चिनाउने काम गरेको बताउँदै नेपालमा प्राकृतिक प्रकोप पर्दा आवश्यक सहयोग गर्न गैरआवासीय नेपाली सधैं तयार रहेको पउल्लेख गरे ।
‘विदेशमा बस्ने नेपालीले वार्षिक १५ खर्ब बढी रेमिट्यान्स पठाएका छन्। ठूलो लगानी समेत भित्रिएको छ,’ अध्यक्ष केसीले भने, ‘नेपालमा लगानी गर्न विदेशी भएर गर्नुपर्ने अवस्था छ। कानुन संसोधन गरेर सीमा नतोकी लगानी भित्र्याउन दिनुपर्छ।’ अध्यक्ष केसीले नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिएपनि त्यसको कुनै काम नभएको बताए ।
‘सरकारले नागरिकता त दिएको छ तर कुनैपनि सरकारी काममा प्रयोगमा आउँदैन,’ उनले भने, ‘सरकारले स्पष्ट कानुन बनाएर त्यसको उपयोग बढाउनु पर्छ।’
उनले नेपाल सरकारको हस्तक्षेपकै कारण गत अधिवेशन विवादमा परेको बताए । ‘सिआईबी लगाएर धरपडक गरियो। तर अनुसन्धान रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएन,’ उनले भने, ‘अध्ययन रिपोर्टमा के देखियो सार्वजनिक गर्नुपर्यो।’






















