काठमाडौं । सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिनामा संलग्न भएको आरोपमा जोशीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।
जोशीमाथि अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ । कास्की जिल्ला प्रहरीको पत्रका आधारमा जोशी समातिएका हुन् ।
गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिए लगत्तै आरोपित पक्राउ पर्न थालेका हुन् । समितिले तयार पारेको प्रतिवेदनमा गोर्खा मिडिया नेटर्वकका तत्कालीन अध्यक्ष जितेन्द्र बहादुर (जिबी) राई, तत्कालीन प्रबन्ध निर्देशक पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने र तत्कालीन सञ्चालक जोशीलगायतलाई कारबाहीको लागि सिफारिस गरेको छ।