काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियमनकारी र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयक मन्त्रीपरिषद्मा पेश भईसकेको बताएका छन् । सोमबार मन्त्रालयमा एक कार्यक्रमकाबीच मन्त्री पाण्डेले उच्च अदालतका पूर्व न्यायाधीशको संयोकत्वमा उच्चस्तरीय छानिबिन समितिको प्रस्ताव मन्त्रिपरिषदमा प्रवेश भईसकेको बताएका हुन् । उनले भने, ‘हालसम्म भएका विमान दुर्घटनाको विषय क्याबिनेटमा पुगिसकेको छ । उच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्दै छ ।’
यसै गरी उनले हवाई उड्डयनमा नियमनकारी र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेसकेको बताए । साथै उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तरमन्त्रालय स्तरमा काम भईरहेको जानकारी गराए ।
मन्त्री पाण्डेले अहिले प्रस्तावित छानबिन समितिमा यस अघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनहरूलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने जानकारी गराए । त्यस्तै अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।
मन्त्री पाण्डेले हवाई दुर्घटनाका विषयमा संसदमा समेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल समेत भईसकेको बताए । यसैगरी मन्त्री पाण्डेले मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढिरहेको पनि धारणा राखे ।
त्यस अवसरमा पर्यटन मन्त्रालयका सचिव डा. गणेसप्रसाद पाण्डेयले नेपाल एयरलाइन्सको आन्तरिक एवं संरचनात्मक सुधारको लागि गृहकार्य भइरहेको जानकारी दिएका छन् । मुख्यत नीतिगत सुधारका लागि मन्त्रालय लागेको पनि उनले बताए ।