काठमाडाैं । नेपाली खेलकुदमा अतुलनीय योगदान पुर्याउने विशिष्ट र उदीयमान खेलाडीहरूलाई सम्मान गर्दै शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) काे “SCSMF Sports Award 2026” सम्पन्न भएकाे छ। खेलकुद क्षेत्रमा पुरानो पुस्ता र नयाँ पुस्ताको योगदानलाई कदर गर्ने उद्देश्यले आयोजित यस विशेष समारोहमा दुई चर्चित खेल व्यक्तित्वलाई सम्मान प्रदान गरिएको हाे ।
यस वर्षको ‘SCSMF Sports Award 2026’ नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्केलाई प्रदान गरिएको छ। उनले सन् १९८० को मस्को ओलम्पिक र १९८४ को लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक उपस्थिति जनाएका थिए । सक्रिय खेल जीवनबाट सन्यास लिएपछि पनि नेपालमा बक्सिङ खेलको प्रवर्द्धनमा उनले आजीवन योगदान दिएका छन् । ‘न्यू राइजिङ स्पोर्ट्स क्लब’ को स्थापना गर्नुका साथै उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली बक्सिङ टोलीको म्यानेजर र संयोजकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९८८ देखि १९९२ सम्म कोषाध्यक्ष र सन् १९९५ देखि २००० सम्म नेपाल बक्सिङ संघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै बक्सिङ खेलको विकासमा पुर्याएको उच्च योगदानको कदर गर्दै उनलाई यस सम्मानबाट विभूषित गरिएको हो।
त्यसैगरी, अर्को “SCSMF Sports Award 2026” नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेलाई प्रदान गरिएको थियो। सानै उमेरदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका उनले विश्वप्रसिद्ध इन्डियन प्रिमियर लिग (IPL) खेल्ने पहिलो नेपाली खेलाडी बनेर सिंगो देशलाई गौरवान्वित बनाएका थिए। नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानको रूपमा जिम्मेवारी सम्हाल्दै विश्वसामु नेपाली क्रिकेटको उदय गराउन उनको भूमिका उल्लेखनीय छ। हालै मात्र एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा विश्वकै सबैभन्दा छिटो २०० विकेट लिने खेलाडीको विश्व कीर्तिमान कायम गरेको ऐतिहासिक सफलताको उच्च मूल्याङ्कन गर्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो।
हाल व्यस्त खेल तालिकाका कारण देश बाहिर रहेकाले सन्दीप उक्त समारोहमा उपस्थित हुन सकेनन्र । सन्दिपको प्रतिनिधित्व गर्दै काठमाडौं जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व राष्ट्रिय टोलीका खेलाडी किरण श.ज.ब. राणाले उक्त सम्मान ग्रहण गरेका थिए । समारोहमा भिडियो सन्देशमार्फत सन्दीपले यस्तो प्रतिष्ठित सम्मान प्राप्त गर्न पाउँदा अत्यन्तै खुसी लागेको व्यक्त गर्दै नेपाली खेलकुदको विकासमा स्वर्गीय शरद चन्द्र शाहाले पुर्याएको अतुलनीय योगदानको स्मरणसमेत गरेका थिए।
पुरस्कार स्वरूप दुवै सम्मानित व्यक्तित्वहरूलाई जनही रु २,५०,००० नगद र कदरपत्र प्रदान गरिएको थियो।
फाउण्डेसनको मुख्य उद्देश्य राष्ट्रको खेलकुद विकास गतिविधिहरूमा सुधारका लागि समर्पित अथवा कुनै पनि किसिमले योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन, सहायता, र पहिचान तथा सम्मान प्रदान गर्नु हो।
विगतका दिनहरुमा शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा Nepal Sports For All Commission को सहकार्यमा “नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ” (“The Dawn of a New Era in Nepal Sports”) नामक फोटो प्रदर्शनी आयोजना गरिएको थियो। यसै फाउण्डेसनद्वारा २०८० असार २६ गते नवीन अर्यालद्वारा लिखित “नेपाली खेलकुदको वृतान्त” नामक पुस्तक पनि लोकार्पण गरिएको थियो। यसैगरी, फाउण्डेसनले पहिलो संस्करण ‘SCSMF Sports Award 2024’ बाट कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर र करातेकी उदीयमान खेलाडी एरिका गुरुङलाई सम्मानित गरेको थियो भने दोस्रो संस्करण ‘SCSMF Sports Award 2025’ बाट पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्य र भलिबल खेलाडी अरुणा शाहीलाई सम्मान गरेको थियो।
शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन स्वर्गीय शरद चन्द्र शाहाको सम्झनामा उनका परिवारजनहरूद्वारा २०२० नोभेम्बर ३० मा स्थापना गरिएको थियो। शरद चन्द्र शाहा नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात छन्। उनी एशियाली ओलम्पिक परिषद्को उपाध्यक्ष (Vice President) को रूपमा सेवा गर्ने पहिलो नेपाली व्यक्ति थिए । नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र Olympic Movement ल्याउने व्यक्ति स्व. शाहा नै थिए । उनी २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव (Member Secretary) तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष (President) रहेका थिए । उनी नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार पनि थिए ।





















