काठमाडौं । अबदेखि चेक बाउन्स अर्थात् चेक अनादर मुद्दामा दुई वर्षसम्म जेल बस्नुपर्ने देखिएको छ । आर्थिक जरिवाना मात्रै गर्ने कि कैद भुक्तान पनि गर्ने लामो बहसपछि प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलपछि कैद र जरिवाना दुवै भराउने सहमति गरेको हो ।
सहमतिअनुसार चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने गरी कानुनी व्यवस्था गरिएको छ । सहमति अनुसार १५ लाख रुपैयाँसम्मको चेक अनादरमा एक महिना, ५० लाख रुपैयाँसम्म तीन महिना र एक करोडसम्मकोमा एक वर्षसम्म र त्यसभन्दा माथि भएमा दुई वर्षसम्म कैद सजाय हुने छ । चेक अनादरको मुद्दा सरकारवादी हुँदा रकम असुली सहज हुने र यसपछि यस्ता घटना कम हुने विश्वास लिइएको छ ।
यस किसिमको मुद्दामा कुल रकमको पाँच प्रतिशत जरिवाना र १० प्रतिशत ब्याज भराउने विषयमा पनि समितिमा सहमति जुटेको छ ।