api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

नाडा अटो शोमा इभीसँगै पुराना नाम चलेका सुजुकी, हुन्डाई, टाटा ब्राण्डमा उच्च आकर्षण, भिडसँगै ट्राफिक व्यवस्थापन हम्मे हम्मे

अवलोकनकर्ताको सहभागिता अनुमानित लक्ष्य ७५ हजार नाघ्ने

काठमाडौं। नाडा अटो शो–२०२४ मा करिब ७५ हजारले अवलोकन गर्ने अयोजकको लक्ष्य भएपनि अन्तिम दिनसम्ममा त्यो लक्ष्य नाघ्ने भएको छ । नाडा अटो शो–२०२४ का संयोजक अनुप बरालले ७५ हजारको लक्ष्यभन्दा बढी अवलोकनकर्ताहरु सहभागी हुने स्थिति रहेको जानकारी दिएका हुन् । उनले भने, ‘अन्तिम दिनसम्म ७५ हजार जनाले अवलोकन गर्दछन् भन्ने लक्ष्य लिइएको हो। पहिलो दिन ८ हजारले अवलोकन गरे । दोस्रो दिन १५ हजारले अवलोकन गरे । तेस्रो दिन १५,५०० ले अवलोकन गरे। चौथो दिन १७,२०० ले नाडा अटो शो अवलोकन गरेका छन् । चार दिनको अवधिमा ५५ हजार भन्दा बढीले अवलोकन गरेका छन् । शनिबारको संख्या अरु दिनमा भन्दा अधिक रहेको छ । यो सबै हेर्दा अवलोकन गर्नेहरुको संख्या हाम्रो लक्ष्य भन्दामाथि हुने देखिएको छ ।’

सम्हालिनसक्नु भिड, ट्राफिक र पार्किङ व्यवस्थापनमा समस्या

आयोजकले सोचेकोभन्दा बढी भिडभाड भएपछि नाडा अटो शोमा ट्राफिक व्यवस्थापन र पार्किङ व्यवस्थापनमा धेरै समस्या भएको छ । भिड बढेपछि कतिपय बेला अटो शो आयोजना गरिएको भृकुटीमण्डपको मूल गेट नै बन्द गरेर अन्यत्र पठाइरहेको दृष्य देखियो । संयोजक बरालले समस्या भएको स्विकार गर्दै भने, ‘अवलोकनकर्ताहरूको भिडभाड उल्लेख्य मात्रामा रहेको छ। सम्हालीसक्नु नै छैन । कतिपय समयमा बाध्य भएर ट्राफिक व्यवस्थापनको लागि मूल गेट नै लगाउनुपर्ने अवस्था भयो। त्यसो हुँदा बाहिर पार्किङ गरेर आउने अवलोकनकर्ताहरू सहजै प्रवेश गरिरहेका र सवारी लिएर आउनेहरूका लागि केही समय ट्राफिक व्यवस्थापनका लागि मूल गेट नै बन्द गराएर एकछिन पर्खाएर ट्राफिक व्यवस्थापन भएपछि बल्ल भित्र प्रवेश गर्न दिइएको छ । यो बाध्यात्मक परिस्थिति हामीलाई यसपाली आइलागेको छ । ’

इभीसँगै पुराना नाम चलेका सुजुकी, हुन्डाई, टाटा, महिन्द्रा, किया ब्राण्डमा उच्च आकर्षण

यसपालीको नाडा अटो शोमा इलेक्ट्रिक भेहीकल प्रति नै नागरिकले रुचि देखाएको पाइएको छ । संयोजक बरालले भने, ‘८० इभीको बाहुल्यता छ। त्यसकारण सर्वसाधारणले पनि रुचि त्यतै देखाएका छन्। त्यति हुँदाहुँदै पनि पुराना बलिया नाम चलेका ब्राण्डहरू सुजुकी, हुन्डाई, टाटाको इभी, महिन्द्रा, कियाप्रति पनि उत्तिकै आकर्षण रहेको पाइएको छ । आमरूपमा उपभोक्ता इभीप्रति आकर्षित भएका छन् । आयातकै कुरा गर्दा करिब ७५ प्रतिशतको आयात इभीको रहेको छ। त्यसैले पछिल्लो समय मानिसहरूको रुचि इभीतिर भएको देखिन्छ।’

विगतभन्दा के फरक ?

प्रदर्शन गर्ने स्थान विगतमा भन्दा अलि बृहत बनाइदिएका कारण यसपालीको नाडा अटो शोमा सहभागीहरुले सहज महशुस गरेका छन् । संयोजक बरालले भने, ‘यसपाली कम्पनीहरूको सहभागिता उल्लेख्य पाइएको छ। विगतभन्दा व्यवस्थित पनि भएको छ । धेरै भिडभाड भएपनि खुल्ला ठाउँ भएका कारण मानिसहरु सहजरुपले भृकुटीमण्डपको बगैंचाको ठाउँ पनि हिँड्न पाउँदा खुसी देखिन्छन् । फराकिलो स्थानमा अवलोकन गर्ने सुविधा भएकाले स्टल राख्नेहरुलाई पनि सहज बनाएको छ । उपयुक्त स्थान बनाइदिँदा अवलोकनकर्ताहरूको भीड बढ्ने रहेछ भन्ने भएको छ। यसले प्रतिक्रिया पनि राम्रो आएको पाएका छौं । यहीकारण स्टल राख्नेहरु पनि एकदमै खुसी भएका छन्। अलि फराकिलो स्थान दिएका कारण विगतमा भन्दा सहज भएको उनीहरूको प्रतिक्रिया छ।’

संयोजक बरालले आगामी दिनमा ट्राफिक व्यवस्थापन, पार्किङ व्यवस्थापनमा अझै बढी ध्यान दिनुपर्ने अवस्था रहेको दोहोर्याएका छन् । अघिल्लो वर्ष सटल बस सञ्चालन हुँदा भने अलि सहज भएको थियो । यसपाली नाडाले त्यसलाई हटाइदिएको थियो । आगामी वर्षहरुमा यसलाई पुनर्विचार गरेर अझै उत्कृृष्ट बनाइने नाडाको भनाइ रहेको छ ।

Health Tips Ad Road Block