api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

सहकारी क्षेत्र बिग्रिँदै गएमा मुलुकको अर्थतन्त्र तहसनहस हुने, सिधै सञ्चालकलाई थुन्ने काम गलत

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा अहिले देखिएको धेरै समस्यालाई तत्काल समाधान नगर्ने हो भने मुलुकको अर्थतन्त्र नै तहसनहस हुने अवस्था आउने भन्दै सहकारीकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । द्रव्य वहुउद्देश्यीय सहकारी संस्था टोखा, काठमाडौंको १८ औं साधारण सभामा उपस्थित सहकारीकर्मी एवं अभियन्ताले यो चिन्ता व्यक्त गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले साधारण सभा उद्घाटन गर्दै सहकारीले आर्थिक परिचालन र सामाजिक कार्यमा देशैभर योगदान गरेको र कतिपय सहकारीहरु अप्ठेरो परिस्थितिमा परेको अवस्थामा द्रव्य सहकारीले समाजका लागि उदाहरणीय काम गर्नुपर्ने बताए ।

साधारणसभामा सहकारीकर्मी एवं ग्यास बिक्रेता महासंघका अध्यक्ष चन्द्रबहादुर थापाले सहकारीमा अहिले देखिएको समस्या समयमै निरुपण नगरे मुलुकको अर्थतन्त्र नै तहसनहस हुने भन्दै चिन्ता व्यक्त गरे । सहकारीका सञ्चालकलाई सिधै थुन्ने अवस्थाप्रति आपत्ति जनाउँदै थापाले भने, ‘समस्या देखियो भनेर सरकारले सहकारीलाई यत्तिकै छोडिदिनु हुँदैन । यसले धेरैलाई रोजगारी दिएको छ। धेरै सर्वसाधारणको बचत सहकारीहरूमा रहेको छ। यदि यो सहकारी क्षेत्र यसैगरी बिग्रिँदै गयो भने मुलुकको अर्थतन्त्र तहसनहस हुने अवस्था आउँछ। त्यसकारण कतिपय सहकारीहरू बिग्रिएका छन् । ती सहकारीका सञ्चालकहरूले लगानी गरेका छन् । जनताको बचतलाई केमा लगानी गरेका छन् भनेर खोज, अध्ययन, अनुसन्धान हुनुपर्दछ। सिधै सहकारीका सञ्चालकलाई थुन्ने होइन । सेयर, घरजग्गा अथवा अन्य क्षेत्रमा भएको लगानीको पहिचान गरी त्यसलाई बेचबिखन गरेर बचतकर्ताको पैसा फिर्ता गर्नुपर्दछ।’

साधारणसभामा गण्डकी प्रदेश सभाकी सदस्य टिकाकुमारी बस्यालले सहकारी भन्नासाथ ठगको संस्था हो भन्ने डर बाहिर सुन्ने गरेकाले त्यस्ता आवाजलाई मत्थर पार्न सहकारीका व्यवस्थापकहरुले इमान्दारितका साथ काम गर्नुपर्नेमा जोड दिइन् । नाफामात्रै नभइ सामाजिक कार्यमा लाग्न उनले सुझाव दिइन् ।

त्यस्तै टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले सहकारीहरुले नमुना काम गरेर देखाउनुपर्ने चुनौती थपिएको बताए ।

साधारण सभामा सहकारीका अध्यक्ष उत्तम अधिकारीले इज्जत नफाल्नेगरी आफूहरुले काम गरिरहेको भन्दै ढुक्क हुन र बचतकर्ताको रकम सुरक्षित रहेको जानकारी दिएका छन् । अधिकारीले सरकारीहरुको नियमन कमजोर बन्दा देशका केही सहकारीमा समस्या भएपनि द्रव्य सहकारी धेरै सुरक्षित रहेको बताए । उनले संस्थामा खराब कर्जा नरहेको पनि बताए । अध्यक्ष अधिकारीले आर्थिक कारोबारसँगै समाज परिवर्तनका लागि सामाजिक कार्य गरेर संस्थाले योगदान गरिरहेको जानकारी दिएका छन् । उनले भने, ‘समाजमा केही योगदान दिने उद्देश्यका साथ स्थापित संस्था हो यो । संस्थाले टोखा नगरपालिकासँग सहकार्य गरेर महिलाहरूको स्वास्थ्य परीक्षण, आँखा परीक्षण, रक्तदान, सरसफाई, ग्यासको प्रयोग सम्बन्धमा टोलटोलमा सचेतना फैलाउने लगायतका क्रियाकलाप गरिरहेका छ । ’

द्रव्य सहकारीमा १७५ जना सेयर सदस्य रहेका छन् ।

विभिन्न क्षेत्रमा सामाजिक काम गरिसकेका व्यक्तिहरूको बाहुल्यता रहेको सहकारीले यसवर्ष शेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश दिने भएको छ । अघिल्लो वर्ष भने सहकारीले शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश दिएको थियो ।

Health Tips Ad Road Block