काठमाडौं । छोटो समयमा दुई ठूला हवाई दुर्घटना भएपछि विज्ञहरुले हवाई क्षेत्रको नियमनमा कडाई गर्नुपर्ने सुझाव दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशकहरूसँग गरेको छलफलकाक्रममा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।
त्यसक्रमममा विज्ञहरुले कतिपय विमान कम्पनीहरुले नागरिक उड्डयनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा मान्यता दिइएको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले तोके अनुसारको सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) समेत लागू नगरेको बताए । त्यसैगरी विमान चालक तथा प्राविधिक जनशक्तिका लागि आवश्यक सुरक्षासम्बन्धी तालिममा पर्याप्त लगानी नगरेको लगायत विषयमा उनीहरुले मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका छन् ।
क्यानको पूरै संरचना र सञ्चालनबारे ‘थर्ड पार्टी अडिट’ गराउन आवश्यक भएको र त्यसका लागि अन्तर्राष्ट्रियस्तरका ख्याति प्राप्त संस्थाबाट विज्ञ मगाउन सकिने सुझाव उनीहरुको रहेको छ । दुर्घटनाको जाँच स्वतन्त्र नहुने गरेको, जाँच समितिले दिएको प्रतिवेदन कार्यान्वयन नहुने गरेको तथा त्यसको फलोअप नभएको कारण दुर्घटना बढिरहेकोतर्फ विज्ञहरुले मन्त्रालयले यस विषयलाई विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
त्यसैगरी क्यानको समग्र पक्षमा सुक्ष्म निगरानी गरी सुधारका कदम अगाडि बढाउनुपर्ने उनीहरुको सुझाव छ । त्यसका लागि विचाराधीन विधेयक संसदबाट पास गर्नेतर्फ पहल हुनुपर्ने उनीहरुको भनाइ छ ।
मन्त्री पाण्डेले नीतिगत, कानुनी र संरचनागत सुधारका लागि पूर्वमहानिर्देशकसँग छलफल गरी सुझाव मागेका हुन् ।