काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष नारायण प्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्र विकासमा पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताएका छन् । ठमेल पर्यटन विकास परिषद्को २८ औं र २९ औं साधारण सभा एवं निर्वाचनको उद्घाटन गर्दै अध्यक्ष दाहालले विदेशमा गन्तव्य प्रवर्द्धनमा मुख्यरुपमा जानुपर्ने र देशभित्र पर्यटन पूर्वाधार विकास गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने बताएका हुन् । यसैमार्फत रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘उच्च शिखर सगरमाथादेखि कालिगण्डकी खोंच, बौद्ध र हिन्दूहरुका थलो, जलस्रोत, जलपर्यटन, प्राकृतिक, साँस्कृतिक, साहसिक गन्तव्य लगायत पर्यटनका सबै सम्भावना नेपालमा रहेको छ । यस्ता सम्पदा र गन्तव्यको विदेशमा गन्तव्य प्रवर्द्धनमा जानुपर्ने र पूर्वाधार विकास गरेर रोजगारी सिर्जना गर्दै जानुपर्दछ र आत्मनिर्भर अर्थतन्त्र विकासमा पर्यटन क्षेत्रको विषयमा जोड दिनुपर्दछ ।’
उनले ठमेलमा रहेको व्यापारिक चुनौती हटाउन सुझाव दिए छ । सफा, सुरक्षित र व्यवसाय मैत्री ठमेल बनाउनुपर्ने भन्दै नयाँ आउने नेतृत्वले यस विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । पर्यटन व्यवसायीले सार्वजनिक खरिद ऐनले बाधा पुर्याएको भनेर कार्यक्रममा विषय उठान गरेपछि अध्यक्ष दाहालले यो विषय देश विकासको बाधा भएको सबैतिर महशुश भएको र संशोधनमा गएको बताए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेले ट्राफिकको समस्या समाधान, हस्पिटालिटीमा सुधारलगायत विषयमा ध्यान दिएर गुनासोरहित ठमेल बनाउन सुझाव दिए ।
परिषद्मा नयाँ नेतृत्वका लागि भविश्वर शर्मा र ध्रुव अधिकारीको प्यानलबीच प्रतिष्पर्धा भएको छ । ठमेलका नवीकरण गरेका १ हजार १९३ व्यवसायीले यही निर्वाचनबाट नयाँ नेतृत्व छान्दैछन् । करिब एक हजार व्यवसायीले मतदान गर्ने अनुमान गरिएको छ । मतदानको नतीजा छिटो भएमा सोमबार राति अबेरसम्ममा र केही ढिलाई भएमा मंगलरबार बिहानसम्ममा आइसक्ने बताइएको छ ।