काठमाडौं । हिजो शुक्रबारदेखि नै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानसहित देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही तीन प्रदेशका अधिकांश भूभाग र बाँकी प्रदेशका पनि केही स्थानहरूमा वर्षा भइरहेको छ । महाशाखाकाअनुसार आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको र चार प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुलेटिनअनुसार कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाकाअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।
विभागले रातिको पूर्वानुमान गर्दै भनेको छ, ‘देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।’
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिंदै उल्लेख गरेको छ, ‘ सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
यसैबीच लगातारको वर्षाले विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध हुनुका साथै तराईमा डुबान हुन थालेको छ । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, विपी राजमार्ग, बेँसीसहर–चामे सडक, घोराही–तुलसीपुर सडक सडक अवरुद्ध भएका छन् । हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो गएको छ । सडक अवरुद्ध बन्दा विभिन्न ठाउँमा यात्रुहरु अलपत्र परेका छन् । बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा परेको छ । लगातार पानी परेपछि अरुण नदिमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ । मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल थुनिदा अस्थायी बाँधमा पानी भरिएको हो । बाँध भरिएपछि माथिबाट पानी बग्ने अवस्था बनेको छ । बाँध भत्किए फ्याक्सिन्दा मुनीको तटीय क्षेत्रको बस्ती खतरामा पर्ने देखिएको छ ।
यस वर्ष विगत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन भनिएको छ ।