काठमाडौं । दुई दिनदेखिको अविरल वर्षापछि तामाकोशी नदीमा बाढी आएर सतह पार गरेपछि शुक्रबार रातिदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उत्पादनसहित सबै प्लान्ट बन्द गरिएको छ । गएराति १ बजेबाट प्लान्ट बन्द गरिएको आयोजनाले जनाएको हो ।
नदीमा पानीको मात्रा २८५ घन मिटर प्रतिसेकेन्ड पुगेपछि जोखिम बढेर प्लान्ट बन्द गरिएको आयोजनाको भनाइ छ । आयोजना प्रवेश गर्ने कतिपय सडकमा पहिरो खसेका छन् भने त्यहाँ बाँधका सबै ढोका खोलिएको आयोजनाले जनाएको छ । गत वर्ष भने दुई सय घन मिटर प्रतिसेकेन्ड सतह पुग्दा आयोजना बन्द गरिएको थिएन ।
दोलखाको उत्तरी क्षेत्र सिँगटी बजार लगायतका क्षेत्रमा अत्याधिक वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । देशभर बाढी र पहिरोका कारण दश जनाको मृत्यु भइसकेको सरकारी भनाइ छ । आज पनि दिनभर पानी पर्नै भएकाले देशैभर उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा पूर्व देखि पश्चिम सम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको विभागको भनाइ छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको एवं कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै विभागले जनाएअनुसार राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै भिागले भनेको छ, ‘सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’