काठमाडौं । नेपालमा मनसुन भित्रिएको एक साता बितिसकेपनि मनसुनी प्रणाली देशैभर फैलिन एक साता लाग्ने भएको छ । मनसुनी प्रणाली सुस्त गतिमा अगाडि बढिरहेकाले यो प्रणाली देशभर फैलिन थप एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अधिकारीका अनुसार अहिले मनसुन कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित रहेको छ । त्यसैले कोशी प्रदेशका सबैजसो जिल्लामा पानी परिरहेको छ ।
काठमाडौंमा मनसुन आइपुग्न अझै एक दुई दिन लाग्ने विभागको भनाइ छ । गत वर्ष पनि मनसुन देशभर फैलिन करिब तीन हप्ता लागेको र यो वर्ष जुन १० तारिखका दिन नेपालमा मनसुन प्रवेश गरेको थियो ।
महाशाखाका अनुसार गण्डकी र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले नयाँ प्रणालीको विकास भए पनि राम्रोसँग वर्षा हुन सकेको छैन । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहेको छ । बागमती प्रदेशका एक–दुई स्थानमा मात्रै हल्का वर्षा भएको छ ।
आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।