काठमाडौं । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीच भएको छलफलमा सहमति जुटेसँगै सोमबारदेखि सबैतिर पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको छलफलमा नेपाल आयल नियमका नायव कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिनभित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । आयल निगमले आजैदेखि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने बताएपनि सोमबारदेखि बल्ल सबैतिर आपूर्ति सहज हुने देखिएको छ ।
नियुक्तीसहित तलबका साथै विभिन्न किसिमका माग राखेर ट्याङ्कर मजदुरहरुले आन्दोलन थालेपछि काठमाडौंका निजी पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण बन्द गरेका थिए । योसँगै उनीहरुले आन्दोलन स्थगित गरेका छन् र आजैदेखि आपूर्ति सहज गराउने भएका छन् ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोक्दै मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिन रनेपाल सरकारले तोकेअनुसार तलबको व्यवस्था गर्न माग गरेका थिए । स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी हटाउनुपर्ने, वार्षिक नवीकरणको व्यवस्था हटाउनु पर्ने, टेम्प्रेचरको सही व्यवस्थापन गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता तालिमको व्यवस्था गरिनुपर्ने एवं सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने लगायतका माग मजदुरहरुले अघि सारेका छन् । उल्लेखित मागहरु १५ दिन भित्र सम्बोधन हुने आश्वासनसँगै मजदुरहरुको आन्दोलन तत्कालका लागि रोकिएको हो ।