skip this News Page Tips Ad Road Block

विद्युत प्राधिकरणद्धारा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रमा अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर रहेका छन् ।

डाटा सेन्टरका लागि तोकिएको टियर तीन अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी डाटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनइए कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो मोडलको डाटा सेन्टर नेपालमै पहिलो रहेको जनाएको छ । डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरु एकीकृत भण्डार गरी क्रमशः राखिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डाटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डाटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड बनाउन लागिएको बताएका छन् । डाटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको उनले बताए । उक्त विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डाटा सेन्टरलाई रिकभरी सेन्टरको रुपमा सञ्चालन गरिने घिसिङले जानकारी दिए ।

सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्‍याक छन् । जसमा ३६ वटा सर्भर र चार वटा नेटवर्क र्‍याक छन् । टियर तीन मापदण्डका लागि तोएिका सर्तहरु पूरा गर्न आवश्यक व्याकपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानीलगायतको व्यवस्था गरिएको छ । अविच्छिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ । स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भएमा डाटा सेन्टरलाई सुरक्षित रुपमा सञ्चालन गर्न १ मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी हालतमा राखिएको छ । तीन सय केभिए क्षमताका दुई थान मोड्युलर युपिएस जडान गरिएको छ । युपिएसको विश्वसनीयतालाई ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । मर्मतसम्भार तथा उपकरणहरु प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नुपर्दैन ।प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डाटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको बताइएको छ । डाटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारीहरु खटाइएको प्राधिकरणले जनाएको छ ।

डाटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन र नियन्त्रण गर्न सकिने पूर्वाधार संरचना निर्माण गरिएको पनि प्राधिकरणको भनाइ छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरु जोडिनेछन् । केन्द्रबाटै ११ केभीभन्दा मूनिको ग्राहकको घरसम्म पुग्ने विद्युत वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिनेछ । डाटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ । करिब करिब एक अर्ब ४० करोडको लागतमा सेन्टर निर्माण गरिएको हो ।

Health Tips Ad Road Block