Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाली राजदूतावासको भारतमा दि पावर समिट, नेपालको उर्जा क्षेत्रमा लगानी गर्न भारतीयलाई आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

नयाँ दिल्ली । नेपाली राजदूतावास भारतले नयाँ दिल्लीमा ’दि पावर समिट २०२४’ आयोजना गरेको छ । नेपालको उर्जा उत्पादन र त्यसको बजार भारत र बंगलादेश नै रहेको स्थितिलाई मध्यनजर गर्दै नेपाली राजदूतावास भारतले नयाँ दिल्लीमा पावर समिटि आयोजना गरेको हो ।

समिटमा नेपालको उर्जा उत्पादन गर्ने निजी क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की उपस्थित थिए । उनले समिटमा अवसरमा नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीहरुलाई लगानी र व्यापारका लागि सबैभन्दा ठूलो अवसर आएको बताउँदै लगानी गर्न आग्रह गरे । अध्यक्ष कार्कीले नेपालमा धेरै ऊर्जाका आयोजनाहरु अघि बढेकोले भारतीय लगानीकर्ता र व्यवसायीका लागि अहिले सबैभन्दा ठूलो अवसर आएको बताए ।

‘नेपालमा सन २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्यसहितको मार्गचित्र तयार भइसकेको छ, यसले भारतीय लगानीकर्ताहरुलाई लगानीको लागि ठूलो अवसर निर्माण भएको छ, ऊर्जामा उपयोग हुने अधिकांश प्रविधिदेखि मेशिन र उपकरणहरु समेत भारतबाटै आउने हुनाले व्यापार र व्यवसायका लागि पनि ठूलो अवसर सिर्जना हुँदैछ ।’ उनले भने ।

नेपालले उत्पादन गर्ने उक्त परिमाणको विद्युत मध्ये १५ हजार मेगावाट भारत र बंगलादेशमा निर्यात गर्ने उद्देश्य राखेको र भर्खरै मात्र नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत खरिद बिक्रीको दीर्घकालिन विद्युत व्यापार सम्झौता भएकोले भारतीय लगानीकर्ताले आँखा चिम्लेर नेपालमा लगानी गर्दा पनि फरक नपर्ने कार्कीको भनाई थियो ।

 

नेपालमा अहिले करीब ३ हजार मेगावाट विद्युत उत्पादन हुँदा २ हजार ३०० मेगावाट निजी क्षेत्रबाट मात्रै उत्पादन भइरहेको, ३ हजार ३०० मेगावाट निर्माणाधीन, ३ हजार ६०० मेगावाटका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा र १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेका छन् । सबै गरेर ३० हजार मेगावाटका विद्युत आयोजनाहरु विभिन्न चरणमा रहेको र तत्कालै लगानी गरेर विकास गर्न सकिने ‘रेडि टु गो’ आयोजनाको संख्या समेत धेरै रहेकोले भारतीय लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न कार्कीले आग्रह गरे ।

ऊर्जा उत्पादकहरुको छाता संस्थाको हैसियतले इप्पानले नेपाल आउने जोसुकै लगानीकर्तालाई पनि सहजीकरण र सहयोग गर्ने पनि उनले बताए । अहिले नेपाल र भारतबीच अन्तरदेशीय विद्युत व्यापार सम्झौता अन्तर्गत १ हजार मेगावाटसम्म विद्युत आदान प्रदान भइरहेको स्मरण गराउँदै इप्पान अध्यक्ष कार्कीले निजी क्षेत्र पनि भारतीय निजी क्षेत्रसँग मिलेर ऊर्जा विकासमा सहकार्य गर्नुका साथै विद्युत व्यापारमा पनि सहभागिताका लागि अघि बढेको बताए । उनले भारतसँगको विद्युत आदानप्रदानका लागि नेपालमा ५ वटा कम्पनी स्थापना भइसकेको र अनुमतिपत्र कुरिरहेको पनि बताए ।

इप्पान अध्यक्ष कार्कीले आगामी बैशाख १२, १३ र १४ अर्थात अप्रिल २४,२५ र २६ मा इप्पानले हिमालयन हाइड्रो एक्स्पोको आयोजना गरिएको जानकारी दिँदै यसमा सहभागी हुन लगानीकर्ता, उत्पादनकर्ता, आपूर्तिकर्ता लगायतलाई आग्रह गरे ।

भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले नेपालमा ऊर्जामा लगानी गर्नका लागि उपयुक्त वातावरण रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । ‘अहिले नेपालमा ऊर्जामा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको छ, लगानी सम्मेलनलाई लक्षित विभिन्न कानूनहरु समेत शंसोधन हुन लागेका छन्, अझ सहज वातावरण बन्दै छ ।’ उनले भने, ‘नेपालमा धेरै लगानीयोग्य आयोजना छन्, ढुक्क भएर लगानी गर्दा हुन्छ ।’

समिटमा भारतको ऊर्जा मन्त्रालयका श्रीकान्त नागुलापालीले ऊर्जामा दुई देशबीच सहकार्य, समन्वय र सहजीकरण भईरहेको र भविष्यमा पनि यसैगरी अघि बढ्ने बताए ।

अडानी ग्रुपका उपाध्यक्ष जयरामन पुनीधानले नेपालमा ऊर्जामा लगानीको ठूलो सम्भावना देखेको बताउँदै लगानीको लागि आफूहरु इच्छुक रहेको बताए ।
लगानी बोर्डका सह–सचिव बाबुराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै लगानी सम्मेलनमा आउन आह्वान गरे । केयर रेटिङ लिमीटेडका वरिष्ठ निर्देशक सव्यासची माजुमदारले नेपालको ऊर्जा विकासका लागि रेटिङ महत्वपूर्ण हुने बताए ।

समिटमा नेपाल र भारतका ऊर्जासँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रका १५० भन्दा बढी प्रतिनीधिहरुको सहभागिता रहेको छ ।

Health Tips Ad Road Block