काठमाडौँ । यस वर्षको वसन्तकालीन आरोहणमा हालसम्मकै धेरै ८८० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । वैशाख ३१ गते सुरु भएको सगरमाथा आरोहणमा आइतबारसम्ममा आरोही र सहयोगी शेर्पासमेत गरी ८८० जनाले चुचुरोमा पाइला टेकेका हुन् ।
खुम्बु क्षेत्रको पर्वतारोहणसम्बन्धी गतिविधि व्यवस्थापनका लागि सगरमाथा आधार शिविरमा स्थापना गरिएको अस्थायी फिल्ड कार्यालयका संयोजक खिमलाल गौतमका अनुसार आइतबारसम्म ९० प्रतिशत आरोहण सम्पन्न भएको छ । उनका अनुसार मंगलबारसम्ममा एक सय हाराहारी आरोहीले चुचुरोमा पाइला टेक्ने तयारी रहेको छ । सगरमाथामा पहिलो पाइला पुगेको ७३ वर्षको आरोहण इतिहासमा एकै याममा यति धेरै आरोही चुचुरोमा पुगेको पहिलो पटक हो ।
पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथामा कामिरिता शेर्पाले ३२ औँ पटक चुचुरोमा पुगेर पुरुषतर्फ धेरैपटक सगरमाथा आरोहणमा कीर्तिमान बनाएका छन् । त्यस्तै महिलातर्फ लाक्पा शेर्पाले सर्वाधिक ११ औँ पटक सगरमाथा आरोहण पूरा गरेर कीर्तिमान बनएकी छिन् । त्यस्तै कामिरिताभन्दा एक कदम पछि रहेका पासाङ दावा शेर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । त्यस्तै अर्का प्रसिद्ध आरोही दोर्जी ग्याल्जेनले पनि २४ औँ पटक सगरमाथा आरोहण गरेर कामिरिता र पासाङ दावालाई पछ्याइरहेका छन् ।
यस्तै चर्चित बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथा २० औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फको नयाँ कीर्तिमान बनाएका छन् ।
यस वर्ष सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।





















