skip this News Page Tips Ad Road Block

शोषणसम्बन्धी चिन्ताबीच रोमानियातर्फ बढ्‌दो नेपाली आप्रवासन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ  । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एन.आई.आई.सी.ई) ले “रोमानियातर्फ नेपाली श्रमिकः अवसर र शोषणबीच” विषयमा एक अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा रोमानियातर्फ नेपाली श्रम आप्रवासनमा देखिएको परिवर्तनशील प्रवृत्ति तथा यसले आप्रवासी श्रमिक, आप्रवासन शासन र श्रम नीतिमा पार्ने प्रभावबारे छलफल गरिएको थियो।

दिलरुक्षी हनडुनेटीले छलफलको प्रारम्भ गर्दै गल्फ मुलुकतर्फको आप्रवासन परम्परागत रूपमा अस्थायी श्रम आप्रवासन र अन्ततः स्वदेश फिर्तीसँग सम्बन्धित रहेको उल्लेख गरिन् भने रोमानियातर्फको आप्रवासन अपेक्षाकृत नयाँ तथा विकसित हुँदै गएको विषय भएकाले यसमा थप अनुसन्धान र नीतिगत संलग्नताको आवश्यकता रहेको बताइन् । छलफलको पछिल्लो चरणमा उनले गल्फ आप्रवासन र युरोपेली मुलुकतर्फको आप्रवासनबीचको तुलनात्मक पक्षबारे पनि प्रकाश पारिन् ।

कार्यक्रममा इयुलिया हाउले रोमानियामा आप्रवासी श्रमिकहरूको बढ्‌दो आगमनबारे चर्चा गर्दै त्यहाँ नेपाली श्रमिकहरूले सामना गरिरहेका चुनौतीहरू औंल्याइन्। उनले श्रमिकहरूले आर्थिक ठगी, भ्रामक भर्ती प्रक्रिया, श्रम शोषण, सम्बन्धित निकायबाट बेवास्ता तथा दुर्व्यवहारसम्बन्धी उजुरी व्यवस्थापनका कमजोर प्रक्रियाहरूको सामना गर्नुपरेको उल्लेख गरिन्। साथै, उल्लेखनीय संख्यामा श्रमिकहरू गैर-दर्ता माध्यमबाट आप्रवासन गरिरहेको कारण उनीहरू शोषण र कानूनी असुरक्षाप्रति अझ बढी संवेदनशील बनेको पनि उनले बताइन्।

उनले रोजगारदाता र आप्रवासी श्रमिकबीच रहेको शक्ति असन्तुलनबारे चर्चा गर्दै धेरै श्रमिकहरू उचित कानूनी संरक्षण तथा संस्थागत सहयोगबाट वञ्चित रहेको उल्लेख गरिन्। रोमानियाको आप्रवासन प्रवृत्तिलाई इटालीजस्ता मुलुकहरूसँग तुलना गर्दै छलफलमा हाल धेरै आप्रवासीहरूले रोमानियालाई पश्चिम युरोपेली मुलुकतर्फ जाने ‘स्टेपिङ स्टोन’ का रूपमा हेर्ने गरेको उल्लेख गरिएको थियो। तथापि, श्रम आप्रवासनलाई अझ व्यवस्थित गर्न सकिएमा तथा श्रमिकहरुलाई सुरक्षित अवस्था र सशक्त संरक्षण उपलब्ध गराइएमा धेरै आप्रवासीहरू लामो समयसम्म रोमानियामै बस्न इच्छुक हुनसक्ने उनले बताइन्। त्यस्तै अस्थिर र कमजोर रूपमा नियमन गरिएका प्रणालीबीच सुरक्षित तथा सन्तोषजनक आप्रवासन धेरै श्रमिकहरूका लागि भाग्यकै विषय बन्दै गएको टिप्पणी पनि उनले गरिन् ।

छलफलको निष्कर्षमा श्रम आप्रवासनको प्रवृत्ति युरोपतर्फ सर्दै गइरहेको वर्तमान अवस्थामा नेपाली आप्रवासी श्रमिकहरूको सुरक्षा र संरक्षण सुनिश्चित गर्न सशक्त आप्रवासन शासन, भर्ती प्रणालीको प्रभावकारी नियमन तथा संस्थागत संयन्त्रहरूको सुदृढीकरण आवश्यक रहेको विषयमा जोड दिइएको थियो।

Health Tips Ad Road Block