काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक छलफल तथा अन्तकृया कार्यक्रम आज अपरान्ह ४ बजे सिल्भर वर्क पार्टी प्यालेस बालुवाटारमा आयोजना हुने भएको छ । कार्यक्रममा ईप्पानको संस्थागत सुदृढीकरण, २१ औं वार्षिक साधारणसभाबाट नेतृत्व चयनसँग बनेको विधान संसोधन तथा पुर्नलेखन समितिले २३ औं वार्षिक साधारणसभामा पेश गरेर पारित भएको विधान शंसोधनको प्रस्ताव र नेतृत्व चयन एवं संस्थाको सुधार तथा ऊर्जा क्षेत्रको विकासका विषयमा गहन छलफल हुने जनाइएको छ ।
इप्पानको २४ औं वार्षिक साधारणसभाको एजेण्डामा रहेको विधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सोका सम्वन्धमा उर्जा उद्यमीहरुसँग राय सुझाव लिएर आगामि निर्वाचनको रणनिति तय गर्ने मुख्य उदेश्यका साथ अगाडि बनाइएको भेलामा जलविद्युत् क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका व्यवसायी, लगानीकर्ता तथा सरोकारवालाहरूलाई सहभागी गराइने आयोजकले जनाएको छ । संस्थाभित्र देखिएका विभिन्न समस्या, व्यवस्थापकीय चुनौती तथा सुधारका आवश्यकताबारे छलफल गर्दै सस्थाको संस्थागत सुदृढीकरण, नेतृत्व प्रणालीमा सुधार तथा ऊर्जा क्षेत्रको विकासका विषयमा छलफल गन विधान संशोधनमार्फत संस्थालाई थप प्रभावकारी, पारदर्शी र एकताबद्ध बनाउने उद्देश्य राखिएको बताइएको छ ।
आयोजकका अनुसार हालको विधानमा रहेको व्यवस्था अनुसार इप्पानको अध्यक्ष बन्न सदस्यले कार्यसमितिमा प्रवेश गरेपछि पदाधिकारी हुँदै वरिष्ठ उपाध्यक्षसम्म पुगेर करिब ९ वर्षको यात्रा पूरा गर्नुपर्ने प्रावधान रहेको छ । उक्त व्यवस्थाले नेतृत्वमा सीमित समूहको प्रभाव कायम रहने र नयाँ पुस्ताका व्यवसायी तथा सदस्यहरूको अवसर संकुचित हुने भन्दै दुई तिहाइभन्दा बढी सदस्यहरूको समर्थनमा विधान संशोधनको पहल अघि बढाइएको बताइएको छ ।
कार्यक्रमको आयोजना विधान संशोधनपछि निर्वाचन तथा नेतृत्व निर्माणको पक्षमा रहेको परिवर्तनकारी समूहले गरेको हो । जसमा वर्तमान कार्यसििमतका महासचिव बलराम खतिवडा, उपाध्यक्ष भरत बहादुर खत्री, उपमहासिचव प्रकाशचन्द्र दुलाल, सचिव भरत नेपाल, सदस्यहरु मिथुन पौडेल, ईशा श्रेष्ठ, कुमार खरेल, सञ्जीव न्यौपाने, राजेन्द्र बि.सी., गोपाल निउरे, पुष्कर ढंगेल, भानुभक्त पोखरेल, डा. भुषण गुरागाईं, सन्तोष नेपाल, मोहन कार्की, सालिकराम बेल्बासे, हिमाल गुरुङल, ईन्दीरा पन्त, आनन्द प्रधान, तारा सुब्बा, अर्जुन पौडेल, विरेन्द्र मल्ल, जगदीश बहादुर पाल, विनोद देबकोटा, लगायत दुई दर्जनभन्दा बढी वरिष्ठ जलविद्युत् व्यवसायीहरूले गरिरहेको जनाइएको छ ।
ईप्पानका अध्यक्ष गणेश कार्की, बरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी, पुर्वअध्यक्षहरु कृष्णप्रसाद आचार्य, शैलेन्द्र गुरागाई, डा. सुवर्णदाश श्रोष्ठ, डा. सन्दीप शाह लगायको उपस्थितिमा कार्यक्रम हुने आयोजकको भनाइ छ । कार्यक्रमले ऊर्जा क्षेत्रका सरोकारवालाबीच साझा धारणा निर्माण गर्दै इप्पानलाई थप संगठित, लोकतान्त्रिक र एकताबद्ध बनाउने तथा निजी क्षेत्रको भूमिका सुदृढ गर्ने विषयमा छलफल गरेर साझा अवधारण विकास गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।




















