skip this News Page Tips Ad Road Block

कृषिको विकास बिना समृद्ध देश निर्माण असम्भव !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको मुख्य पेशा अहिले पनि कृषि नै हो । तर कृषि पेशालाई समाजमा सम्मानित, आधुनिक र आकर्षक पेशाको रूपमा स्थापित गर्न नसकेसम्म कृषि क्षेत्रको दिगो विकास सम्भव देखिँदैन। कृषि क्षेत्रको विकास बिना कुनै पनि राष्ट्रले आर्थिक समृद्धिमा ठूलो फड्को मार्न नसक्ने उदाहरण विश्वका धेरै विकसित राष्ट्रहरूले प्रस्तुत गरिसकेका छन्। त्यसैले नेपालले सर्वप्रथम कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यलाई प्राथमिकतामा राख्दै तत्कालका लागि निर्यातभन्दा पनि आयात प्रतिस्थापनतर्फ केन्द्रित हुनु आवश्यक छ।

हाम्रो देशमा सहजरूपमा उत्पादन गर्न सकिने धेरै कृषि उपज तथा खाद्य वस्तुहरू विदेशबाट आयात भइरहेका छन्, जसका कारण देशको ठूलो धनराशी बाहिरिएको अवस्था छ। ती वस्तुहरू स्वदेशमै उत्पादन गर्न सकियो भने विदेशी मुद्रा बचत हुनुका साथै किसानको आयआर्जन र राष्ट्रिय अर्थतन्त्र दुवै सुदृढ बन्न सक्छन्। साथै नेपालमा मात्र विशेषरूपमा उत्पादन हुन सक्ने मौलिक तथा उच्च मूल्यका कृषि उपज, जडीबुटी, अर्गानिक उत्पादन तथा स्थानीय परिकारलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै निर्यातमुखी बनाउन सकियो भने देशले आर्थिकरूपमा ठूलो लाभ लिन सक्छ।

नेपालको हिमाल, पहाड र तराईको विविध भूगोल, हावापानी र उर्वर माटोका कारण विश्वका विभिन्न स्थानमा उत्पादन हुने धेरै प्रकारका बाली, फलफूल तथा पशुपालन व्यवसाय नेपालमै सफलतापूर्वक गर्न सकिने पर्याप्त सम्भावना रहेको छ। त्यसैले स्थान अनुसार उपयुक्त बाली छनोट, उन्नत बिउबिजनको प्रयोग, आधुनिक सिँचाइ प्रणाली, कृषि प्रविधि, कृषि यान्त्रीकरण, किसानमैत्री नीति, कृषि बीमा, सहुलियतपूर्ण कर्जा, उत्पादनको उचित मूल्य निर्धारण तथा प्रभावकारी बजारीकरण प्रणालीलाई जोड दिन अत्यन्त आवश्यक छ।

उत्पादन भएर पनि किसानले उचित बजार नपाउने समस्या अन्त्य गर्न राज्यले कृषि उपजको भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ। साथै पछिल्लो समय हाम्रो देशका मौलिक बिउबिजन, स्थानीय जातका बाली तथा परम्परागत कृषि प्रणाली हराउँदै जानु चिन्ताको विषय बनेको छ। त्यसैले आफ्नै पहिचान बोकेका स्थानीय उत्पादन, मौलिक बिउ तथा रैथाने खाद्य संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ।

कृषि केवल उत्पादनसँग मात्र नभई हाम्रो संस्कृति, परम्परा र जीवनशैलीसँग पनि गहिरो रूपमा जोडिएको क्षेत्र हो। खेतीपाती सुरु गर्नु अघि न्वागी खाने, भूमिको पूजा गर्ने, भगवानको आराधना गर्ने, बेठी लगाउने, सामूहिक रूपमा रोपाइँ तथा बाली भित्र्याउने जस्ता नेपाली मौलिक परम्पराले हाम्रो सामाजिक एकता, संस्कृति र कृषिप्रतिको सम्मानलाई झल्काउँछन्। त्यसैले आधुनिकतासँगै आफ्ना मौलिक संस्कार र पहिचानलाई जोगाउँदै कृषिलाई व्यवसायिक र सम्मानित पेशाका रूपमा विकास गर्न आवश्यक छ। कृषिसँगै पशुपालन क्षेत्रलाई पनि समान प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ।

दूध, मासु, अण्डा लगायत पशुजन्य उत्पादनले पोषण सुरक्षा, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँछन्।

राज्य, निजी क्षेत्र, सहकारी र किसानबीच समन्वय गरी कृषि तथा पशुपालनलाई आधुनिक, व्यवस्थित, व्यवसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सकियो भने युवालाई स्वदेशमै अवसर सिर्जना हुनुका साथै नेपाल आर्थिक समृद्धितर्फ मजबुत रूपमा अगाडि बढ्न सक्ने स्पष्ट देखिन्छ।

Health Tips Ad Road Block