काठमाडौं । ७३ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र जोखिममा पर्दै गएको भन्दै हिमाल संरक्षणलाई राष्ट्रिय मात्र नभई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्ने बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटन विभागको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले सगरमाथा केवल विजय गर्ने शिखर नभई मानव सभ्यताको आध्यात्मिक अनुभूति र साहसको प्रतीक भएको बताए ।
“सगरमाथा विजयी हुने चिज होइन । यो एउटा अनुभूति हो । सम्भवतः सबैको भाग्यमा त्यो अनुभूति लेखिएको हुँदैन,” मन्त्री पौडेलले भने, “हिमाल हाम्रो मात्र होइन, संसारकै साझा सम्पत्ति हो । हिमालको सुरक्षा नगरेसम्म हामी सुरक्षित रहन सक्दैनौं ।”
उनले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको उल्लेख गर्दै त्यसको असर पृथ्वीका तटीय क्षेत्रदेखि मानव जीवनसम्म पर्ने चेतावनी दिए । “सगरमाथा र अन्य हिमालहरू जोखिममा छन् । हिमालको उचाइभन्दा अझ माथि मानवताको चेतना हुनुपर्छ,” उनले भने ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले जलवायु परिवर्तनको तीव्र असर हिमाली क्षेत्रमा देखिन थालेकाले हिमाल जोगाउनु आजको प्रमुख आवश्यकता भएको बताए । “जलवायु परिवर्तनको तीव्र वृद्धि भइरहेको छ, हिमाल जोगाउनु आजको आवश्यकता हो,” सचिव निरौलाले भने।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जेन शेर्पाले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ पर्यटन ऐन निजी क्षेत्रमैत्री हुनुपर्ने बताए।
“२०३३ सालदेखि निरन्तर नेपालको हिमालको विकास, आरोहीको सहजता र पर्वतीय पर्यटनलाई विश्वमा चिनाउने काम गरिरहेका छौं,” उनले भने, “निजी क्षेत्रको साथ बिना सरकार एक्लै कुदेर कहीँ पुग्दैन। त्यसैले पर्यटन ऐन निजी क्षेत्रमैत्री हुनुपर्छ ।”
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले यस वर्षको वसन्त आरोहण सिजनमा सगरमाथासहित विभिन्न हिमाल आरोहणका क्रममा विदेशी आरोही तथा नेपाली शेर्पा गाइड गरी सात जनाले ज्यान गुमाएको जानकारी दिए । साथै केही नेपाली तथा विदेशी आरोही स्वदेश तथा विदेशमा उपचाररत रहेको समेत जानकारी गराए ।
महानिर्देशक लामिछानेले पर्वतीय पर्यटनको संरक्षण, विकास, व्यवस्थापन र प्रवर्द्धनसँगै नयाँ सोच, अध्ययन र अनुसन्धानको समीक्षा गर्ने अवसरका रूपमा सगरमाथा दिवसलाई लिनुपर्ने बताए । “हिमाली क्षेत्रको संरक्षण, नेपाली पहिचानसँग जोडिएका हिमश्रृंखलाको अन्तर्राष्ट्रिय प्रवर्द्धन, पारिस्थितिक सन्तुलन कायम गर्ने प्रणालीको विकास तथा पर्यटकीय सुशासन आजको आवश्यकता हो,” उनले भने ।
उनले निर्माणाधीन पर्यटन विधेयकले पर्वतीय पर्यटन क्षेत्रमा उत्कृष्ट र व्यवहारिक व्यवस्था गर्ने अपेक्षा समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा सगरमाथा आरोहण, खोज तथा उद्धार, अध्ययन–अनुसन्धान र पर्वतीय पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो।
यसअन्तर्गत ३१ पटक सगरमाथा आरोहण गरेका पासाङ दावा शेर्पालाई ‘अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार’, हेलिकप्टर पाइलट प्रिया अधिकारीलाई ‘तेन्जिङ–हिलारी खोज तथा उद्धार पुरस्कार’, तेन्जिङ डेभिड शेर्पालाई ‘तेन्जिङ–हिलारी कीर्तिमानी आरोही पुरस्कार’ तथा पूर्णिमा श्रेष्ठलाई ‘पेमा डोमा महिला आरोही पुरस्कार’ प्रदान गरिएको थियो।
त्यसैगरी, नेपाली हिमाली क्षेत्रको अध्ययन तथा अनुसन्धानमा योगदान पुर्याएको भन्दै भूगोलविद् प्रा.डा. विशालनाथ उप्रेतीलाई ‘तेन्जिङ–हिलारी अध्ययन तथा अनुसन्धान पुरस्कार’ प्रदान गरिएको थियो।
कार्यक्रममा सगरमाथा खुम्बु आइसफल क्षेत्रमा डोरी टाँग्ने ‘आइसफल डाक्टर’ टोली, सगरमाथा र ल्होत्से हिमालमा बाटो खोल्ने डोरी फिक्सिङ टोली तथा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयमा खटिएका सम्पर्क अधिकृतहरूको योगदानको समेत प्रशंसा गरिएको थियो।
यस वर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथा पहिचान र गौरव नारासहित मनाइएको थियो। कार्यक्रममा पर्वतीय पर्यटनको दिगोपना, हिमाल संरक्षण, जलवायु परिवर्तनका चुनौती तथा हिमाली संस्कृतिको संरक्षणबारे विशेष जोड दिइएको थियो ।





















