काठमाडौं । पृथ्वी राजमार्ग किनारका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्ने कामले तीव्रता पाएको छ । सडक विस्तारपछि ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्ने काम भइरहेको हो ।
राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने)को सडक निर्माण सकिएसँगै सम्पदा निर्माणले तीव्रता पाएको हो ।
एसियाली विकास बैंक (एडिबी)को करिब छ अर्ब ३१ करोड रुपैयाँ लागतमा स्तरोन्नति भएको ४१ किलोमिटर सडकखण्डको निर्माण पूरा भइसकेको छ ।
सडक विस्तारका क्रममा विस्थापित भएका धार्मिक तथा सांस्कृतिक संरचनाको मौलिकता जोगाउन आयोजनाले करिब दुई करोड रुपैयाँ विनियोजन गरेर काम गरिरहेको हो ।
अधिकांश मठमन्दिर र पाटीपौवाको पुनर्निर्माण गर्ने काम भइरहेको हो । घाँसीकुवामा रहेको ऐतिहासिक भानु–घाँसी पार्क र कुवाको पुनर्निर्माणका लागि समेत विशेष तयारी गरिएको छ ।
यस स्थललाई पर्यटकीय र सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।





















