skip this News Page Tips Ad Road Block

घट्यो गाडी भाडा !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरी दुई प्रतिशत घटाएको छ । इन्धनको मूल्य घटेपछि विभागले सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो । यात्रुवाहक सवारी, पहाड र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर दुई प्रतिशतले घटेको विभागले जनाएको छ ।

विभागका अनुसार डिजेलको मूल्यमा प्रतिलिटर ४३ रुपैयाँको गिरावट छ । यसअघि डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५‍.८३ रुपैयाँ रहेकोमा घटेर हाल १९२.८३ रुपैयाँ कायम भएको छ । करिब १८.२३ प्रतिशतले गिरावट हुँदा दुई प्रतिशत मात्रै भाडा समायोजन भएको छ । वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ तर इन्धनको मूल्य १८ प्रतिशतसम्म घट्दा पनि विभागले सबै प्रकारका सवारीसाधनमा दुई प्रतिशत मात्र घटाउने निर्णय गरेको छ । विभागले २०८३ वैशाख १६ गते पाँच प्रतिशत भाडादर वृद्धि गरेको थियो ।

वैशाखमा वैज्ञानिक स्वचालित मूल्य प्रणाली अनुसार ९.८ देखि १४.३ प्रतिशतसम्म भाडा बढ्नुपर्ने थियो तर तत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै पाँच प्रतिशत मात्र भाडा वृद्धि गरिएको विभागले जनाएको छ । पहिले पूर्ण रूपमा बढ्नुपर्ने भाडा नबढेका कारण हाल इन्धनको मूल्यमा भारी गिरावट आए पनि दुई प्रतिशत मात्र भाडा घटाइएको विभागले सूचनामा जनाएको छ ।

Health Tips Ad Road Block