Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालकी छोरी स्नेहा रुपाखेती मिस सुप्रिम युएसएको फाइनलमा

Citizenlife ad 2082 falgun to baishak 2083

ह्यूस्टन, टेक्सस्, अमेरिका । अमेरिकाको प्रतिष्ठित सुन्दरी प्रतियोगिता मिस सुप्रिम युएसए २०२६ को अन्तिम प्रतिस्पर्धामा नेपालको धादिङ जिल्लाकी चेली स्नेहा रुपाखेती छनौट भएकी छिन् । हाल अमेरिकाको टेक्सस राज्यस्थित अस्टिन सानमार्कोस सहरमा रहेको टेक्सस स्टेट युनिभर्सिटीमा स्नातक तह चौथो सेमेस्टरमा अध्ययनरत रुपाखेतीले मिस सुप्रिम अष्टिनको उपाधि जित्दै यस राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । उनी यस प्रतियोगितामा सहभागी हुने र फाइनलसम्म पुग्न सफल हुने एकमात्र नेपाली मूलकी प्रतिस्पर्धी हुन् ।

रुपाखेतीले आगामी मे १४ देखि १६ सम्म अमेरिकाको ह्यूस्टन शहरमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा भाग लिनेछिन्, जहाँ मे १६ तारिख साँझ ६ बजेदेखि ८ बजेसम्म बीटीसी क्रिएटिभ स्पेसमा प्रतियोगिताको भव्य समापन हुने कार्यक्रम छ । यसअघि उनले अमेरिकामा रहेका नेपाली समुदायबीच निकै लोकप्रिय रहेको मिस नेपाल नर्थ अमेरिका २०२५ को फाइनलमा समेत आफ्नो दरिलो उपस्थिति जनाइसकेकी छिन् । आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै उनले यसपटक अमेरिकी राष्ट्रिय मञ्चलाई रोजेकी हुन् ।

प्रतियोगिताको मञ्चलाई केवल व्यक्तिगत ताज जित्ने माध्यमका रूपमा मात्र नलिई स्नेहाले नेपालका सीमान्तकृत समुदायको आवाज विश्वस्तरमा पुर्‍याउने प्रण गरेकी छिन् ।

विशेष गरी धादिङ र चितवनका विकट क्षेत्रमा रहेका सीमान्तकृत चेपाङ समुदायका बालबालिका, श्रमिक बालबालिका र शिक्षाबाट वञ्चित रहेका समूहको हकहितका लागि उनले आफ्नो धारणा प्रस्तुत गरिरहेकी छिन् । उनले बाल्यकालमा देखेका र भोगेका ती बालबालिकाहरूको अवस्था सुधार गर्न, जसले चाहेर पनि सपना देख्न पाइरहेका छैनन्, उनीहरुको आवाज र अधिकारको लागि सधैं क्रियाशील रहने बताएकी छिन् ।

धादिङको सामुदायिक विद्यालय जनजागृति माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा उत्तीर्ण गरेकी स्नेहाले आफ्नो बाल्यकालमा नजिकैबाट देखेका विपन्न बालबालिकाहरूको अवस्था सुधार गर्न र उनीहरूलाई ठूला सपना देख्न प्रेरित गर्ने अठोट लिएकी छिन् । ताजसँगै आउने जिम्मेवारीलाई प्राथमिकता दिने बताउँदै उनले विश्वको जल्दोबल्दो चुनौतीको रूपमा रहेको जलवायु परिवर्तन र यसले नेपाल जस्ता विकासशील राष्ट्रहरूमा पारेको गम्भीर असरलाई पनि आफ्नो मुख्य एजेण्डाको रूपमा उठाउने जमर्को गर्नेछिन् ।

Health Tips Ad Road Block