काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा तथा अधिवेशन आजबाट सुरु भएको छ । साधारण सभाको उद्घाटन ललितपुरमा भएको छ । ललितपुरको ग्वार्काेस्थित होटल रोयल टुलिपमा सभा उद्घाटन भएको हो ।
विभिन्न कानुनी उल्झन, आन्तरिक विवाद र अदालतको स्थगन आदेशपछि तय भएको साधारण सभाले महासंघलाई आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
सभामा देशभरका उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी र सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको छ ।
साधारण सभाको दोस्रो दिन अर्थात् भोलि वैशाख २२ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा भवन) मा मतदान प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्नेछ ।
महासंघको ७३ सदस्यीय नयाँ कार्यसमितिका लागि कुल १३७ जनाले उम्मेदवारी दिएका छन् । देशभरबाट २,१५३ जना मतदाताले महासंघको निर्वाचनमा भाग लिनेछन् ।
वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष (जिल्ला–नगर, वस्तुगत र एसोसिएट) र विभिन्न समूहका सदस्य पदका लागि व्यवसायीहरू प्यानल नै बनाएर चुनावी मैदानमा छन् ।






















