काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने रौतहट बौधीमाई नगरपालिका–७ घर भएका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका–३२ बस्ने भोजपुर, भोजपुर नगरपालिका–७ घर भएका ४४ वर्षीय केदार बहादुर भण्डारी, भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ बस्ने सप्तरी सुरूङ्गा नगरपालिका–५ घर भएका ५३ वर्षीय राम तुला मिया र ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका–७ घर भएकी ५५ वर्षीया सुनिता खत्री रहेका छन् ।
पक्राउ मध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, केदार बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २५ हजार रूपैयाँ तथा राम तुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले केदार बहादुरलाई काठमाडौं महानगरपालिका–१३ बाट सोमबार, मिथिलेशलाई काठमाडौं महानगरपालिका–१२ बाट आइतबार तथा राम तुला र सुनितालाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ बाट शनिबार पक्राउ गरेको जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






















