तनहुँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) को निर्माण कार्य सम्पन्न भएको छ । ४१ किलोमिटर लम्बाइको यस सडकखण्डमा स्तरोन्नति सौन्दर्यकरण र कालोपत्रेका सबै मुख्य कामहरू पूरा भएको आयोजनाले जनाएको छ ।
आयोजनाले लक्ष्यअनुसार नै पूर्वी खण्डको काम सम्पन्न गरेको बताएको छ । अहिले मर्मतसम्भार अवधिअन्तर्गत फुटपाथ नमिलेका केही ठाउँहरू मिलाउने काम भइरहेको आयोजनाले जनाएको छ ।
एशियाली विकास बैंकको ६ अर्ब ३१ करोड रुपैयाँ ऋण सहयोगमा चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन कम्पनी लिमिटेडले यो खण्डको निर्माण गरेको हो । वि.सं. २०७७ माघ १७ मा ठेक्का सम्झौता भएर सुरु भएको यो आयोजनाले साढे तीन वर्षको अवधिमा महत्त्वपूर्ण प्रगति हासिल गरेको हो ।






















