काठमाडौं । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले शेयर निष्काशन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।।
यससम्बन्धी सम्झौतामा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले दाँत तथा मुखसम्बन्धी विभिन्न रोगको विशेषज्ञ उपचार सेवा प्रदान गर्दै आएको छ । मुख तथा जबडाको शल्यक्रिया, दन्त प्रत्यारोपण, बाल दन्त सेवा, दाँत मिलाउने उपचार, लेजर दन्त उपचारलगायत आधुनिक प्रविधिमा आधारित सेवा , एम्बुलेन्स सेवा अस्पतालले उपलब्ध गराउँदै आएको छ । दन्त स्वास्थ्य सेवासँगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सन् २००८ मा स्थापना भएको हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धनप्राप्त संस्था हो । हाल संस्थाले तीनवर्षे डेन्टल साइन्स, डेन्टल असिस्टेन्ट तथा डेन्टल ल्याब मेकानिक्स तालिम सञ्चालन गर्दै आएको छ भने निकट भविष्यमा ब्याचलर इन डेन्टल सर्जरी र ब्याचलर इन डेन्टल हाइजिन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
अस्पतालले विभिन्न विद्यालय तथा समुदायमा नियमित दन्त स्वास्थ्य शिविर सञ्चालन गर्दै दन्त परीक्षण, परामर्श र प्राथमिक उपचार उपलब्ध गराउनुका साथै विद्यार्थीलाई व्यावहारिक तथा क्लिनिकल अनुभव दिलाउने कार्यसमेत गर्दै आएको जनाएको छ ।

















