skip this News Page Tips Ad Road Block

एनआरएनए वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा उपाध्यक्ष न्यौपाने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गैर आवासीय नेपाली संघका प्रथम उपाध्यक्ष खगेन्द्र न्यौपानेलाई वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा नियुक्त गरिएको छ। संघको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार उनलाई २०२५–२०२७ कार्यकालका लागि यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो, जसलाई प्रवासी नेपाली श्रमिकको हकहित र सुरक्षा सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

संघले न्यौपानेलाई वैदेशिक रोजगारसँग सम्बन्धित नीतिगत सुधार, श्रमिक अधिकारको संरक्षण र अन्तर्राष्ट्रिय समन्वयलाई प्रभावकारी बनाउने जिम्मेवारी दिएको छ। यसका लागि उनले विस्तृत कार्ययोजना तयार पार्ने, दक्ष र अनुभवसंपन्न सदस्यहरू समेटेर टोली गठन गर्ने तथा विभिन्न गन्तव्य मुलुकका निकाय र नेपाली कूटनीतिक नियोगहरूसँग सहकार्य गर्दै परिणाममुखी काम अघि बढाउने बताए ।

संयोजकको जिम्मेवारी सम्हाल्दै न्यौपानेले प्रवासमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा, सम्मान र अधिकारलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले वैदेशिक रोजगारीका क्रममा देखिएका श्रम शोषण, असुरक्षित कार्यस्थल, न्यून पारिश्रमिक र कानुनी जटिलताजस्ता समस्यालाई प्राथमिकतामा राख्दै समाधानमुखी पहल गरिने बताएका छन्।

उनका अनुसार टास्कफोर्सले नीतिगत तहमा सुधारका लागि नेपाल सरकारसँग समन्वय गर्ने मात्र होइन, गन्तव्य मुलुकहरूसँगको श्रम सम्झौतालाई पनि प्रभावकारी बनाउने दिशामा काम गर्नेछ।

प्रवासी नेपाली समुदायमा न्यौपानेको यो नियुक्तिलाई अनुभवी, समन्वयकारी र परिणाममुखी नेतृत्वको रूपमा हेरिएको छ। लामो समयदेखि प्रवासमा सक्रिय रहँदै आएका उनले अब वैदेशिक रोजगार क्षेत्रमै केन्द्रित भएर ठोस उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ। एनआरएनएभित्र एकता सुदृढ गर्दै विश्वभर रहेका नेपालीको साझा आवाजलाई अझ मजबुत बनाउने लक्ष्यसमेत उनको कार्ययोजनामा समेटिएको छ।

यो नियुक्तिसँगै एनआरएनएले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधानका लागि संरचनागत र नीतिगत हस्तक्षेपलाई तीव्र बनाउने संकेत दिएको छ, जसले लाखौं नेपाली श्रमिकको जीवन र भविष्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Health Tips Ad Road Block