काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि आयोगले आइतबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो । अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व चुहावटसम्बन्धी छानबिन तथा अन्य कसुरबाट बचाउन सहजीकरण गरिदिए बापत उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठसँग ७० लाख रुपैयाँ घूस लिएको आयोगको अनुसन्धानबाट खुलेको हो ।
अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी, रवीन्द्र लामिछानेलगायतसँगको मिलेमतोमा घुस लिएको आरोप आयोगले लगाएको छ । उनीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम दाखिल गरी घूसको स्वरूप परिवर्तन गरेको दाबी अख्तियारले गरेको छ । सो रकम भक्तपुरको थिमीस्थित दिव्यश्वरी आयोजनाभित्रको जग्गा खरिद र ‘द कुटी रिसोर्ट’को कर्जा भुक्तानीमा प्रयोग भएको तथ्य पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगले अधिकारीसहित घुस लेनदेन र सम्पत्ति लुकाउन सहयोग गर्ने अन्य संलग्न व्यक्तिहरूलाई पनि प्रतिवादी बनाउँदै कानुनबमोजिम कारबाहीको माग गरेको छ ।






















