काठमाडौं । नेपाल आयल निगमले पेट्रोल लिटरमा १५ रुपैयाँ र डिजेल/मट्टितेल लिटरमा १० रुपैयाँले बढाएको छ । अन्तर्राष्ट्रिय बजारबाट उच्च मूल्य वृद्धि भएर आएपछि मूल्य बढाउन बाध्य भएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त दर कायम नगरी बिक्री गर्दा केही रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने गरी पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रति लिटर १० रुपैयाँले वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।
यो मूल्यवृद्धि आज बिहानैदेखि लागु भएको छ । अरु विषयमा निगमले स्पष्ट केही भनेको छैन ।
यस्तो छ निगमको प्रेस विज्ञप्ति

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा प्रतिलिटर ३१ रुपियाँ, डिजेलमा प्रतिलिटर ५४ रुपियाँ तथा खाना पकाउने एलपि ग्यासमा २१६ रुपियाँ वृद्धि गरिएको छ । तर नेपालमा केही रुपैयाँ स्थिरीकरण कोषबाट व्यहोरिने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपियाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपियाँ बृद्धि गरिएको निगमले स्पष्ट पारेको छ ।
पछिल्लो समयमा मध्यपूर्व र पश्चिम एशियामा देखिएको युद्धको परिवेशले खाना पकाउने ग्यास लगायत सम्पूर्ण पेट्रोलियम पदार्थको मूल्यमा अत्याधिक वृद्धि भई आपूर्तिमा नै कठिनाई भइरहेको अवस्था छ । यसले आफ्नै पेट्रोलियम पदार्थको श्रोत नहुने मुलुकहरुमा आपूर्ति र मूल्य समायोजन गरी नागरिकलाई सहज र सुलभ मूल्यमा आपूर्ति गर्ने कार्य प्रभावित हुँदै आएको छ । यस भन्दा अघि वि.सं २०७९ सालमा रसिया र युक्रेन युद्धका कारणबाट तत्कालीन अवस्थामा आपूर्ति प्रणालीमा असर पर्नुका साथै मूल्यमा अत्याधिक वृद्धि भई जनजीवनमा प्रत्यक्ष असर परेको थियो । तत्कालिन अवस्थामा मूल्य अत्याधिक वृद्धि भई मूल्य समायोजन हुन नसकेको कारण इण्डियन आयल कर्पोरेशनलाई निगमको २४ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमध्ये ७ अर्ब नेपाल सरकार अर्थ मन्त्रालयबाट ऋण, राष्ट्रिय वाणिज्य बैंकमा निगमको अचल सम्पति धितो राखी रु. ३ अर्ब ऋण र मूल्य स्थिरीकरण कोष समेत प्रयोग गर्दा पनि इन्डियन आयल कर्पाेरेशनलाई भुक्तानी हुन नसक्दा आपूर्ति प्रभावित भएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य सहज भएपछि पनि पुरानो दायित्वबाट निगम थिचिएको जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि अब बजारमा आपूर्ति प्रणालीमा समेत प्रतिकुल अवस्था सिर्जना हुने देखिएको छ ।





















