skip this News Page Tips Ad Road Block

प्रवासी नेपालीलाई लगानीको वातावरण बनाउन लगानी बोर्डले सहजीकरण गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लगानी बोर्डका सीईओ सुशील ज्ञवालीले नेपालमा विश्वासको ग्याप, आत्मविश्वासको डर रहेको भन्दै सरकार, एनआरएनए र निजी क्षेत्रले संयुक्त काम गर्नुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ अधिवेशन तथा ग्लोबल कन्फ्रेन्सको ‘रोडम्याप टु इनभेष्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी’मा आफ्ना भनाइ राख्दै ज्ञवालीले अब दुई तिहाइ सरकार आउन लागेकाले आत्मविश्वास कायम गर्न एकसाथ लाग्नुपर्ने बताए । अब पनि अलमलको अवस्थामा रहने छुट नभएको भन्दै उनले सेबोन र अन्य ऐनहरुको हकमा अगाडि बढ्न जरुरी रहेको बताए । यसमा लगानी बोर्डले सघाउने उनले प्रतिबद्धता जनाए । नीतिगत सुधारको लागि केही नेपाल ऐन संशोधनमार्फत जान सकिने र प्रवासी नेपाली र सरकारी निकायबीच घनिभूत छलफल जरुरी रहेको उनले बताए । आर्इपीओमा अड्किएको विषयमा गहिरो छलफल गरी निकास निकाल्नुपर्ने र लगानी बोर्डले सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।

गैरआवासीय नेपाली ऐनलगायत ऐनहरु संशोधन नहुँदा समस्या भएको, संविधानले बोलेपछि कार्यान्वयन गर्नुपर्नेमा सम्पत्ति किन्न नपाएको, के कारणले डर सिर्जना भएको हो त्यसमा छलफल गरी क्लियर गर्नुपर्ने बताए । ‘१४ वटा निकायमा लगानी हेर्ने फोकल पर्सन तोकिदिएका छौं । अब सहजीकरण हुनेछ,’ उनले भने । दुइतिहाइ सरकार गठन भइसकेपछि लगानीको वातावरण बन्ने एक वर्षमा १० खर्ब पैसा आउनसक्ने ठाउँमा पुर्याउन सक्ने आत्मविश्वास विकास भएको बताए । अब आर्थिक, जनशक्ति र कानुनी रुपमा तयारी गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । ‘तपाइसँग भएको आइडिया, पुँजी, प्रविधि लगानी बोर्डमा प्रस्ताव गर्नुस् । हामी अगाडि बढाउन तयार छौं । हामी एनआरएनएसँग एमओयु नै गरेर जाने सोचेका छौं,’ उनले भने ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले ८० लाख नेपालीलाई नेपालको दिर्घकालीन आर्थिक विकासमा कसरी जोड्न सकिन्छ भन्ने मुख्य विषय भएको बताए । समृद्धिमा साझेदार, लगानीको प्रणालीमा कसरी सामेल हुने भन्दा लगानी भावनात्मक सम्बन्धले नहुने बताए । भावनात्मक सम्बन्ध भन्दा पनि सुरक्षित वातावरण, बजार चाहिने बताए । लगानी अभिवृद्धि गर्न पहिलो नेपालप्रति आशा, भरोसा विश्वासको वातावरण कायम गराउनुपर्ने बताए । यसका लागि भ्रष्टाचार सूचकमा सुधार आउनुपर्ने र नयाँ सरकारबाट हुने उनको भनाइ थियो ।

दोस्रो नयाँ सरकारले एनआरएनलाई विशेष सुविधा र छुटसहित लगानीका लागि आह्वान गर्नुपर्ने बताए । चीन र भारतको सुरुवाती दिनमा एनआरएनलाई नै आह्वान गरेर विकास र समृद्धि हासिल गरेको स्मरण गर्दै प्रवासी नेपालीको व्यवसायिकता, सीप, ज्ञान जरुरी भएको बताए । आइटी पार्क, औद्योगिक निर्यातमा जोड्नुपर्ने बताए ।

तेस्रो सार्वजनिक, निजी क्षेत्र र प्रवासी नेपालीबीच विकास साझेदारी गर्ने । वैदेशिक रोजगार बचत पत्र ठूलो रकमको निष्कासन नयाँ सरकारले गर्ने भन्दै त्यसमा लगानी गर्न सकिने बताए । यसैगरी खास खास परियोजनाका लागि प्रोजेक्ट बण्ड लिंकको तर्जुमा गरेर लगानीको आह्वान गर्ने र प्रतिफलमुलक आयोजना भएपछि लगानी सुनिश्चित हुने उनको भनाइ थियो । यस्ता सम्मेदनमा लगानीको लागि सो केस हुने खालको प्रस्तुति गर्न उनले एनआरएनएलाई सुझाव दिए । समृद्धि हासिल गर्ने मार्गचित्रसहित देश अगाडि बढ्दा लगानी गर्ने क्षमता र दक्षता चाहिने भन्दै एनआरएनएको ठूलो भूमिका हुने बताए ।

सेबोनका रुपेश केसीले एनआरएन डेभलपमेन्ट फण्डबारे ब्रिफिङ गरेका थिए । उनले धितोपत्र बोर्डमा गैरआवासीय नेपालीको सहभागिताका जटिलता र गर्नुपर्ने कानुनी सुधारबारे जानकारी गराएका थिए । मुख्य मुद्दा नै ऐन संशोधन रहेको र अब स्थायी सरकारबाट आशावादी हुने ठाउँ रहेको बताए ।

ग्लोबल कन्फ्रेन्सको पहिलो सेसन ‘रोडम्याप टु इनभेष्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी’ मा चेम्बर अफ कमर्सका तर्फबाट आफ्नो धारणा राख्दै उपाध्यक्ष दिपक मल्होत्राले नीतिगत स्थायित्व, लगानी र विश्वासमा जोड दिए । उनले गैरआवासीय लगानीको लागि संस्थागत संयन्त्र आवश्यक भएको बताए । नवीन वित्तीय कोष, रणनीतिक लगानी क्षेत्र, पर्यटन तथा आतिथ्य उद्योग, ज्ञान हस्तान्तरण र उद्यमशीलतामा जोड दिए । उनले रुपान्तरणमा निजी क्षेत्रको ठूलो भूमिका रहेको बताए ।

प्रवासी नेपाली र स्वदेशी उद्यमीबीच सहकार्य गर्न चेम्बर तयार रहेको उनको भनाइ थियो । ‘नयाँ सरकार आएको छ । देश अब स्थायित्व आएको छ । २/३ मेजोरिटीको सरकार छ । स्थायित्व हुन्छ । अब एकद्वार प्रणाली नीति हुनुपर्छ । सरलीकृत गर्नुपर्नेछ । हामी मिलेर काम गर्न चाहन्छौं,’ उनले भने । हेमराज ढकालले नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीको लगानी महत्त्वपूर्ण भन्दै राज्यले वातावरण बनाउनुपर्ने बताए ।

Health Tips Ad Road Block