काठमाडों । आज देशका विभिन्न स्थानका हिमाली र पहाडी भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भागमा मौसम सफा रहको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भाग तथा अन्य प्रदेशको हिमाली भागमा साधरणतया बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।






















