नवलपरासी । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आज वृहत मोटरसाइकल र्याली आयोजना गर्दै चुनावी माहोल तताएको छ। प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा चर्चित उद्योगपति विनोद चौधरीको उपस्थितिमा आयोजित उक्त र्यालीमा हजारौँ कार्यकर्ता तथा समर्थकको सहभागिता रहेको आयोजकले जनाएको छ।
चौपत्ता खुला चौरबाट बिहान १०ः३० बजे सुरु भएको मोटरसाइकल र्याली विभिन्न स्थान हुँदै अघि बढेको थियो। र्याली त्रिवेणी चोक, महलबारी, रुपौलिया, बेलाटारी, विजयनगर, गुठी प्रसौनी, पकलिहवा, बसहिया, मुजहवा, धननदवा लगायतका मुख्य बजार र बस्तीहरू परिक्रमा गर्दै सम्पन्न भएको थियो। ठाउँ–ठाउँमा आयोजित कोण सभामा स्थानीय नेताहरूले सम्बोधन गर्दै कांग्रेसको पक्षमा मतदान गर्न अपिल गरेका थिए।
र्यालीमा सहभागी युवाहरूले पार्टीका झण्डा तथा चुनाव चिन्हसहित उत्साहजनक नाराबाजी गरेका थिए। सडकका दुवै किनारामा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो। मोटरसाइकलको लामो लस्करले नवलपरासीका विभिन्न गाउँ–बस्तीमा चुनावी वातावरण थप चर्किएको देखिएको थियो।
उम्मेदवार विनोद चौधरीले कोणसभालाई सम्बोधन गर्दै क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य पूर्वाधार सुदृढीकरण आफ्नो प्राथमिकता रहेको बताएका छन्। “नवलपरासीलाई समृद्ध र आत्मनिर्भर बनाउने अभियानमा तपाईंहरूको साथ चाहिन्छ,” उनले भने।
कांग्रेसका जिल्ला नेतृत्वले यस र्यालीलाई “जनताको अभूतपूर्व समर्थन” को संकेतका रूपमा व्याख्या गरेको छ। आगामी निर्वाचन नजिकिँदै जाँदा नवलपरासीमा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।






















