Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भारतको केन्द्रीय प्रसारण निकायबाट सीमापार विद्युत् परियोजनामा लिट्मस् इन्डस्ट्रिजलाई स्वीकृति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं, नेपाल । नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योग लिट्मस् इन्डस्ट्रिज लिमिटेडले भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्तिसम्बन्धी महत्वपूर्ण सम्झौता हासिल गरेको छ । पीजीसीआईएल भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय हो, जसले देशको अन्तरराज्यीय तथा सीमापार विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्छ । यस स्वीकृतिसँगै लिट्मस् इन्डस्ट्रिज सीमापार विद्युत् प्रसारण परियोजनाका लागि चयन हुने एकमात्र नेपाली उत्पादक बनेको छ ।

सम्झौता अनुसार लिट्मस् इन्डस्ट्रिजले ४०० केभी एसीएसआर मूस कन्डक्टर २,७९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ । यी कन्डक्टरहरू नेपालको डिडिङ्ग–ढल्केबर र भारतको बथनाहा सीमापार विद्युत् प्रसारण लाइन परियोजनामा प्रयोग गरिनेछ । उक्त प्रसारण लाइन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ । नेपालमै पहिलो पटक ४०० केभी एसीएसआर मूस कन्डक्टर उत्पादन हुन लागेको हो । यसले देशको प्रविधिक तथा औद्योगिक क्षमतामा महत्वपूर्ण उपलब्धि हासिल गर्ने बताइएको छ ।

परियोजना स्वीकृत गर्नु अघि पावर ग्रिड कर्पोरेशन अफ इन्डियाले लिट्मस् इन्डस्ट्रिजको कारखानाको गहन मूल्याङ्कन गरेको थियो । यसक्रममा उत्पादन प्रक्रिया, उत्पादन क्षमता, गुणस्तर नियन्त्रण तथा परीक्षण प्रणाली, साथै समग्र कारखाना पूर्वाधारको समीक्षा गरिएको थियो । यस गहन मूल्याङ्कनपछि लिट्मस् इन्डस्ट्रिजलाई परियोजनाका लागि कन्डक्टर आपूर्ति गर्न योग्य एकमात्र नेपाली उत्पादकका रूपमा स्वीकृति प्रदान गरिएको हो । यसरी लिट्मसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सामेल भएर छनोट हुनु नेपालको लागि गौरवको विषय भएको दाबी गरिएको छ ।

ढल्केबर–बथनाहा प्रसारण लाइन नेपालका महत्वपूर्ण ऊर्जा आयोजनामध्ये एक अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित मुख्य सीमापार संयोजन हो । ९०० मेगावाट क्षमताको यो आयोजनाले नेपालको ऊर्जा सुरक्षालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ । यसले औद्योगिक विकासलाई सहयोग गर्ने र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तार गर्ने विश्वास गरिएको छ । लिट्मस् इन्डस्ट्रिजसँग ठूला प्रसारण परियोजनामा काम गरेको प्रमाणित अनुभव छ । यसअघि कम्पनीले हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन परियोजनाका लागि नेपाल विद्युत् प्राधिकरणलाई ४०० केभी एसीएसआर मूस कन्डक्टर ३,६०० किलोमिटर आपूर्ति गरिसकेको छ । यो परियोजना नेपालका अत्यन्तै महत्वपूर्ण आन्तरिक प्रसारण मार्गहरूमध्ये एक हो ।

हाल प्राप्त स्वीकृतिले लिट्मस् इन्डस्ट्रिजलाई विश्वसनीय अन्तर्राष्ट्रिय आपूर्तिकर्ताका रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ । यसले नेपाली उद्योगको विस्तार हुँदै गएको भूमिका उजागर गर्नुका साथै सीमापार ऊर्जा पूर्वाधार विकासमा नेपालको सहभागिता सशक्त बन्दै गएको संकेत पनि दिने कम्पनीको भनाइ छ ।

कम्पनीको बारेमा

लिट्मस् इन्डस्ट्रिज लिमिटेड, रमेश कर्प समूहअन्तर्गतको उद्योग, सन् १९७७ देखि चार दशकभन्दा बढी समयदेखि नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्दै आएको अग्रणी उद्योग हो । कम्पनीले औद्योगिक तथा पूर्वाधार विकास परियोजनाका लागि मध्यम भोल्टेज एक्सएलपीई आवरणयुक्त कन्डक्टर, एसीएसआर कन्डक्टर, एरियल बन्च्ड केबल, न्यून भोल्टेज पावर केबल तथा कन्ट्रोल केबल पनि उत्पादन गर्दै आएको छ । यसका साथै लिट्मस् इन्डस्ट्रिजले घरायसी विद्युत् जडानका लागि लिट्मस् केबल्स, जसमा एफआरएलएस केबल र इकोवायर–जेडएच हलोजनरहित तार समावेश छन्, उत्पादन तथा आपूर्ति गर्दछ।कम्पनीले बुटवल र नवलपरासीमा अवस्थित दुई अत्याधुनिक उत्पादन केन्द्रहरू सञ्चालन गरिरहेको छ, जसमा नेपालमै पहिलो पटक स्थापना गरिएको एल्युमिनियम रड उत्पादन प्लान्ट पनि समावेश छ । लिट्मस् इन्डस्ट्रिजले आफ्ना सबै उत्पादन तथा प्रक्रिया राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर र सुरक्षा मापदण्डअनुसार सञ्चालन गर्दै आएको छ ।

Health Tips Ad Road Block