काठमाडौं । आइसीसी टी–२० विश्वकपमा पहिलो खेलमा नेपाल जम्मा ४ रनले पराजित भएको छ । तेस्रोपटक टी–२० विश्वकप खेलेको नेपाल पहिलो खेलमा बलियो मानिएको र दुईपटक विश्वकप जितिसकेको इङ्ग्ल्याण्डसँगको प्रतिष्पर्धामा नेपाल अन्तिममा जम्मा ४ रनले मात्र हार बेहोर्न पुग्यो ।
इङ्ग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा भएपनि नेपालको जित निस्कन सकेन । १८५ रनको लक्ष्य पछ्याउने क्रममा शुरुमा आएका कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाए । तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि नेपालले लगत्तै छैठाैं ओभरमा कुशल भुर्तेललाई पनि गुमाउन पुग्यो । भुर्तेलले १७ बल खेल्दै ४ चौका र १ छक्का मदतमा २९ रन जोडे । त्यतिबेला नेपालको ४२ रन भएको थियो । त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स सम्हाले । कप्तान र उपकप्तान दुवै मिलेर ८२ रनको साझेदारी गरे । एकपछि अर्काे राम्रो साझेदारीले इङ्ग्ल्याण्ड दबाबमा परेको थियो । १५ औं ओभरमा दीपेन्द्र सिंंह ऐरी आउट हुने पुगे । ऐरीले २९ बलमा ६ चौका र १ छक्काको मद्धतमा ४४ रन जोडे । त्यसपछि कप्तान रोहित पौडेल पनि ३९ रनमा आउट हुन पुगे । त्यस्तै आरिफ शेखले ८ बलमा १० रन बनाए । आक्रामक इनिङ्स खेलेका लोकेश बमले २० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३९ रन जोडे ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि १० रन आवश्यक भएपनि दबाबपूर्ण अवस्थामा रहेको नेपालले अन्तिम बलसम्म खेल खेल्न सफल भएपनि जित निकाल्न सकेन । ४ रन बढी प्राप्त गरेर इङ्ल्याण्डले खेल आफ्नो पक्षमा पार्यो ।
इङ्ल्याण्डका लियाम एन्ड्र्यु डसनले सर्वाधिक २ विकेट लिए। विल जाक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो । इङ्ल्याण्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रुकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । ओपनर फिल साल्टलाई नेपालका शेर मल्लले आफ्नो पहिलो बलमै आउट गर्दा इंग्ल्याण्डले चाँडै पहिलो विकेट गुमाएको थियो । ५७–३ को अवस्थामा रहेको स्थितिमा बेथेल र कप्तान ह्यारीले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्लिस इनिङ्स सम्हालेका थिए ।
बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
तस्विरः क्यान






















