Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कामपा ८ का अध्यक्ष आशामान संगत र २३ का अध्यक्ष मचाराजा महर्जनको अग्रसरतामा जीवित देवताहरु श्रीगणेश र श्रीभैरवको निवास बनाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । वसन्तपुर डवलीको दक्षिणतर्फ यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भवन र नवआदर्श माध्यमिक विद्यालय रहेको स्थानमा जीवित देवताहरु श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाउने विषयमा साझेदार कार्यालयका अधिकारी बिच सहमति भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले जग्गा प्राप्ति तथा भोगचलनसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जन, त्रिभुवन विश्वविद्यालयका उपकुलपति दिपक अर्याल, गुठी संस्थानका सदस्य सचिव शैलेश कुँवर, शार्दुलजंग गुल्मका गुल्मपति सुमननरसिंह मल्ल, सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठसहित साझेदार सहभागी थिए ।

छलफलमा कार्यवाहक प्रमुख डंगोलले जग्गालाई काठमाडौँ महानगरपालिका मातहतमा ल्याएर जीवित देवताहरु श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाउने कामले काठमाडौँको पहिचान र गरिमालाई उच्च बनाउने बताउँदै यो काममा कसैको विमति नरहने विश्वाश व्यक्त गरिन् । ‘२०७२ सालको भूकम्पले जीर्ण र धराप अवस्थामा रहेको भवन भत्काएर अहिले जोखिम शुन्य बनाएका छौँ । यस स्थानमा जीवित देवी कुमारीको जस्तै गरेर येँःया (इन्द्रजात्रा) मा निकालिने श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाऔँ । यसमा महानगरपालिकासँगै, त्रिभुवन विश्वविद्यालय, गुठी संस्थान, पुरातत्व विभाग, सुरक्षा निकाय, स्थानीय समुदाय र गुठीयार सबैको स्वामित्व हुने संयन्त्र निर्माण गरौँ ।’ उनको भनाइ थियो ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति अर्यालले, जग्गा प्रदान गर्ने विषयलाई निर्णय प्रक्रियामा लगिने बताउनुभयो । ‘त्रि.वि. कार्यकारी परिषदबाट यो विषयमा निर्णय गर्छौँ ।’ उनको भनाइ थियो ।

छलफलमा सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले, महानगरपालिकाको सांस्कृतिक पहिचान र प्रतिष्ठा जोडिएको महत्वपूर्ण काम हुने आशा व्यक्त गरे । त्यस्तै वडा नं. २३ का अध्यक्ष महर्जनले, यो कामले स्थानीयबासीको गौरवमा इटा थप्ने अपेक्षा राखे ।

इन्द्रजात्राका समयमा गुडाइने रथ पुननिर्माण गर्ने विषयमा संस्थानले निर्णय गरिसकेको गुठी संस्थानका सदस्य सचिव कुँवरले जानकारी दिए । सम्पदा संरक्षण अभियन्ता श्रेष्ठले, श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाउने प्रयत्नलाई स्थानीयबासीले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए ।

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ को व्यवस्था बमोजिम जग्गा तथा भवन महानगरपालिका मातहतमा ल्याउन यसअघि डंगोल उपप्रमुखको जिम्मेवारीमा रहँदा उनको संयोजकत्वमा समिति गठन गरेर काम थालिएको थियो । २०७९ फागुन ११ गते बिहीबार बसेको महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले डंगोलको संयोजकत्वमा वडा नं. ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगत र वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो । यो समितिलाई वडा नं. ५ हाँडीगाउँमा भएको कि.नं. ५७० को जग्गाको भोगाधिकार प्राप्त गर्ने व्यवस्था मिलाउने समेत जिम्मेवारी दिइएको थियो । कार्यविधिमा भएको व्यवस्था बमोजिम कुनै सरकारी निकायको नाममा दर्ता रहेको जग्गा अर्को सरकारी निकायलाई आवश्यक भएमा जग्गा माग गर्ने निकायको केन्द्रीय निकाय, दर्तावाला निकायको केन्द्रीय निकाय र शिफारिस समितिको शिफारिसका आधारमा मन्त्रालयले माग गर्ने सरकारी निकायलाई जग्गा उपयोग गर्न स्वीकृति दिन सक्ने व्यवस्था छ । समितिले यस विषयमा २०८० भदौ १२ गते त्रि.वि. उपकुलपतिको कार्यालयलाई पत्र लेखेर दर्तावालाका तर्फबाट केन्द्रीय समिति गठन गर्न र संयुक्त बैठकको वातावरण मिलाउन अनुरोध गरिएको थियो । यही पत्रका आधारमा भदौ २७ गते दुवै पक्षका अधिकारीबीच संयुक्त बैठक बसेको थियो ।

यस स्थानमा जीर्ण भवन थियो । भवन भत्किएर जुनसुकै बेला पनि जनधनको क्षति हुन सक्ने भएपछि महानगरपालिकाले जीर्ण भवन भत्काउने निर्णय गरेको थियो । यो भवन वडा नंं २३ को सिट नं. १०२(११०४(१२, कित्ता नं. ३४८ मा ४ आना १ पैसा २ दाम ९०–४–१–२० क्षेत्रफलमा थियो ।

२०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको थियो । पुरानो भवन दक्षिणतर्फ पहिलो तलामा रहेको झ्याल खसेको, उत्तर र दक्षिणतर्फको जमिन तलामा गाह्रो भत्किएको, पूर्वतर्फको पहिलो र दोस्रो तलाको गाह्रो ठाउँ ठाउँमा चिरा परेको, उत्तरतर्फको झ्याल वरपर ठाउँ ठाउँमा चर्किएको, छानाबाट पानी चुहिने हुँदा काठको मुसिं, ढलिः आदि मक्किएको थियो ।

Health Tips Ad Road Block