काठमाडाैँ । बुधबारदेखि नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (एनसीआईसीके) को आयोजनामा भृकुटीमण्डपमा सञ्चालन भइरहेको “काठमाडौं महोत्सव २०८२ तथा Kathmandu Business Expo २०२६” मा हरेक दिन दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता भइरहेकाे छ ।
महोत्सवमा काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाबाट आएका अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ । स्वदेशी तथा विदेशी उत्पादन, महिला उद्यमीहरूद्वारा उत्पादित सिपमूलक वस्तु, ‘एक वडा-एक उत्पादन’ अवधारणाअन्तर्गतका सामग्री, हस्तकला, कृषि तथा घरेलु उद्योगका उत्पादनप्रति दर्शकहरूको विशेष आकर्षण देखिएको छ ।
महोत्सवमा सहभागी प्रदर्शकहरूले प्रत्यक्ष बिक्री, व्यावसायिक नेटवर्क विस्तार तथा नयाँ बजारको सम्भावना देखिएको छ । विशेष छुट तथा अफरका कारण महोत्सवमा हरेक दिनहरुमा उल्लेखनीयरुपमा कारोबारसमेत भएको छ ।
रैथाने खानाका परिकार, सांस्कृतिक झाँकी, लोकनृत्य, संगीत तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू महोत्सवका प्रमुख आकर्षण बनेका छन् । हरेक दिनकाे उल्लेख्य सहभागिताले महोत्सवको उद्देश्य सही दिशामा अघि बढेको साथै स्थानीय उत्पादन प्रवर्द्धन, महिला उद्यमशीलता सशक्तीकरण तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेको महशुश गरिएकाे छ। महोत्सवमा सांस्कृतिक कार्यक्रम, व्यवसायिक अन्तरक्रिया तथा विशेष गतिविधिहरू आयोजना भइरहेकाे संघका महासचिव दुर्गा राज श्रेष्ठले बताएका छन् ।






















