skip this News Page Tips Ad Road Block

कोहलपुर–सुर्खेत १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कर्णाली प्रदेशका जिल्लाहरूको विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र पर्याप्त बनाउन अगाडि बढाइएको कोहलपुर–सुर्खेत १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले प्रसारण लाइन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै यसबारे जानकारी दिएका हुन् ।

घिसिङले आफू नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा रहेको बेला ठेक्का सम्झौता गरी अघि बढाइएको यो आयोजना वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान प्रक्रिया, राष्ट्रिय निकुञ्ज क्षेत्र, स्थानीय अवरोध र कठिन भूगोलजस्ता चुनौतीका बाबजुद पनि सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

यसअघि २०४५ सालदेखि कोहलपुरबाट लगिएको ३३ केभी लाइनमार्फत सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु लगायतका जिल्लामा विद्युत आपूर्ति हुँदै आएको थियो। सीमित क्षमताका कारण लो भोल्टेज, बारम्बार अवरोध र अस्थिर आपूर्तिको समस्या थियो। अब १३२ केभी लाइन सञ्चालनमा आएसँगै विद्युत आपूर्ति पर्याप्त, सुरक्षित, भरपर्दो र गुणस्तरीय हुने मात्र होइन, कर्णाली क्षेत्रमा उत्पादित जलविद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने पूर्वाधारसमेत तयार भएको छ। आयोजनाअन्तर्गत सुर्खेत–दैलेख खण्ड निर्माणाधीन रहेको छ।

कोहलपुर–सुर्खेत खण्ड सम्पन्न गर्न अहोरात्र खट्ने आयोजना व्यवस्थापन टोली, समन्वय गर्ने जिल्ला प्रशासन कार्यालयहरू, डिभिजन वन कार्यालयहरू,स्थानीय तह, राजनीतिक दल, तथा स्थानीय बासिन्दालगायत सम्पूर्ण सरोकारवालालाई घिसिङले धन्यवाद दिएका छन् ।

Health Tips Ad Road Block