skip this News Page Tips Ad Road Block

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धाः प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक हुन् प्रेमलाल महर्जन। उपभोक्ताको हक, सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका लागि चार दशकभन्दा बढी समयदेखि निरन्तर संघर्षरत महर्जन नेपाली नागरिक समाजका स्थापित नाम हुन्। राजनीतिदेखि सामाजिक आन्दोलन, सहकारी, उपभोक्ता अधिकार, सुशासन र सार्वजनिक सेवासम्म उनको योगदान उल्लेखनीय मानिन्छ।

२०११ साल असार १८ गते ललितपुरको कुम्भेश्वर क्षेत्रमा जन्मिएका प्रेमलाल महर्जन सामान्य परिवारमा हुर्किए पनि असाधारण सामाजिक चेतनासहित सार्वजनिक जीवनमा सक्रिय बने। बि.ए.सम्मको अध्ययन पूरा गरेका महर्जन विद्यार्थी जीवनदेखि नै राजनीतिक र सामाजिक गतिविधिमा संलग्न भए । प्रारम्भिक चरणमा वामपन्थी विद्यार्थी राजनीतिमा आबद्ध भएर काम गरेका महर्जन पछि नेपाली कांग्रेसमा सक्रिय भए र विभिन्न तहका जिम्मेवारी सम्हाले । उनी नेपाली कांग्रेस ललितपुर नगर वडा सभापति, क्षेत्रीय सभापति, नगर सभापति, केन्द्रीय प्रशिक्षकदेखि विभिन्न विभागका सदस्यसम्म भए ।

तर, प्रेमलाल महर्जनलाई नेपाली समाजले विशेष रूपमा चिन्ने आधार भने उपभोक्ता अधिकार आन्दोलन नै हो। २०४२ सालतिर काठमाडौं उपत्यकामा देखिएको खानेपानी अभावविरुद्धको आन्दोलनबाट महर्जन उपभोक्ता क्षेत्रमा सक्रिय बने । यही संघर्षले उनलाई जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या र राज्य संयन्त्रको कमजोरी नजिकबाट बुझ्ने अवसर दियो। त्यसपछि उनी निरन्तर उपभोक्ता अधिकारकर्मीको रूपमा सक्रिय भए ।

उनले उपभोक्ता मञ्च नेपालमा जिल्ला सदस्यबाट यात्रा सुरु गरी १३ वर्षसम्म केन्द्रीय महासचिवको जिम्मेवारी सम्हाले । उपाध्यक्ष पदसम्म पुगिसकेपछि २०६३ सालमा नयाँ सोच र फराकिलो राष्ट्रिय अभियानसहित ‘राष्ट्रिय उपभोक्ता मञ्च’ स्थापना गरे । त्यसयता उनी लगातार संस्थाको केन्द्रीय अध्यक्षको भूमिकामा रहँदै उपभोक्ता अधिकारको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । उनकै नेतृत्वमा राष्ट्रिय उपभोक्ता मञ्च देशका ६१ जिल्लासम्म विस्तार भएको छ।

प्रेमलाल महर्जनको सार्वजनिक जीवनको अर्को महत्वपूर्ण अध्याय २०६२ सालको स्थानीय निर्वाचन हो। तत्कालीन प्रतिकूल राजनीतिक परिस्थितिमा उनी स्वतन्त्र उम्मेदवारका रूपमा ललितपुर उपमहानगरपालिकाको नगर प्रमुख पदमा चुनाव लडे । ‘साइकल’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका उनले करिब १२ हजार मत प्राप्त गर्दै विजय हासिल गरे । त्यसपछि २०६२ माघ २६ गतेदेखि २०६३ वैशाख २० गतेसम्म नगर प्रमुखका रूपमा कार्य गरे । त्यो समय राजनीतिक संक्रमणकालीन अवस्था भए पनि उनले स्थानीय जनतामाझ इमानदार र जनमुखी नेतृत्वको छवि बनाउन सफल भए ।

उनको जीवन केवल राजनीति वा आन्दोलनमा सीमित छैन। सामाजिक क्षेत्रमा पनि उनको सक्रियता उत्तिकै उल्लेखनीय छ। प्रभात पुस्तकालय, कुम्भेश्वर युनेस्को क्लब, पाटन जेसिज, नेपाल स्काउट, सहकारी संस्था, उद्योग वाणिज्य महासंघ लगायत विभिन्न संस्थासँग आबद्ध भएर उनले सामाजिक नेतृत्व गरेका छन् । उनले ७४ पटक रक्तदान गरिसकेका छन्, जुन स्वयंमा एउटा प्रेरणादायी मानवीय योगदान हो।

नेपाल सरकारद्वारा गठित विभिन्न उच्चस्तरीय समिति, आयोग र कार्यदलमा उनले सदस्यका रूपमा काम गरेका छन् । पेट्रोलियम पदार्थमा मिसावट सम्बन्धी छानबिन समिति, औषधि मूल्य अनुगमन समिति, सिण्डिकेट उन्मूलन कार्यदल, उपभोक्ता संरक्षण परिषद्, प्रतिस्पर्धा प्रवर्द्धन बोर्ड, नेपाल खाद्य संस्थान सञ्चालक समिति लगायतका निकायमा उनको सक्रिय भूमिका रहेको छ। उनी अहिले पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको केन्द्रीय अनुगमन समितिमा सक्रिय छन् ।

उपभोक्ता अधिकार र सामाजिक सेवामा गरेको योगदानका कारण उनी विभिन्न राष्ट्रिय सम्मानबाट विभूषित भइसकेका छन् । २०७१ सालमा उनलाई राष्ट्रपतिबाट ‘समाज सेवा रत्न’ अलंकार प्रदान गरिएको थियो। त्यसपछि ‘प्रज्वल जनसेवा श्री’ तथा ‘सुकृतिमय राष्ट्रदीप’ जस्ता प्रतिष्ठित राष्ट्रिय विभूषणबाट पनि सम्मानित भए ।

पत्रकारिता र प्रकाशन क्षेत्रमा पनि उनको सक्रियता उल्लेखनीय छ। उनले ‘तरुण साप्ताहिक’, ‘तरुण टाइम्स’, ‘उपभोक्ता जागरण’ र ‘उपभोक्ता टाइम्स’ जस्ता प्रकाशनमार्फत उपभोक्ता अधिकार, सुशासन र सामाजिक चेतनाका विषयहरूलाई निरन्तर उठाउँदै आएका छन् । २०२८ सालमा नै नेपाल भाषामा ससिवा अर्थात् सिमसिमे पानी नामक समसामयिक पत्रिका निकाल्न सफल भएका थिए । विभिन्न पत्रपत्रिकामा उनका सयौँ लेख प्रकाशित भएका छन्।

देशका अधिकांश जिल्ला भ्रमण गरिसकेका प्रेमलाल महर्जनले भारत, चीन, सिंगापुर, थाइल्याण्ड, भुटान लगायत विभिन्न मुलुकको भ्रमण गरी त्यहाँका उपभोक्ता नीति, बजार व्यवस्थापन र सामाजिक संरचनाबारे अनुभव सँगालेका छन् ।

आज प्रेमलाल महर्जनलाई केवल एक राजनीतिक व्यक्तित्व वा सामाजिक अभियन्ताका रूपमा मात्र होइन, उपभोक्ताको आवाज बोल्ने निर्भिक नेतृत्वका रूपमा चिनिन्छ। बजार अनुगमनदेखि कालोबजारीविरुद्धको संघर्ष, उपभोक्ता सचेतनादेखि सार्वजनिक सेवाको गुणस्तरसम्म उनले निरन्तर आवाज उठाउँदै आएका छन् ।

नेपालमा उपभोक्ता अधिकारको इतिहास लेखिने दिनमा प्रेमलाल महर्जनको नाम अग्रपंक्तिमा रहने निश्चित छ। संघर्ष, इमानदारी, सामाजिक प्रतिबद्धता र जनसेवाको उदाहरणका रूपमा उनको जीवनयात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।

Health Tips Ad Road Block