Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल भन्छन्–काम गर्दा नागरिकको हितलाई केन्द्रमा राखे मात्र पुग्छ

गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड दिइएको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा बिहीबार स्मृति सभा सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सहिद सप्ताह आयोजक समितिले सभा आयोजना गरेको हो । सभामा स्मृति मन्तव्य, योगदानको चर्चासहित सहिदहरुको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

त्यस क्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन तथा स्वाभिमानका लागि विगतमा गरिएका प्रयत्न र त्याग विर्सनु नहुने धारणा राखिन् । उनले भनिन्, ‘स्वतन्त्र नागरिक भएको राष्ट्र निर्माण हुने सपना देखेर प्राणको आहुती दिएका सहिदहरुको योगदानबाट प्राप्त अधिकार जोगाउन असल नागरिक हुन जरुरी छ ।’ उनले विभिन्न काल खण्डमा भएका राजनीतिक आन्दोलनका सहिदहरुले दिएको योगदानको चर्चा गरेका थिए ।

नागरिक स्वतन्त्रताका लागि सहिदहरुले गरेको त्यागबाट प्राप्त उपलब्धीबाट नागरिकले के लाभ पाएका छन् ? म र मजस्ता जनप्रतिनिधिले स्वमूल्याङ्कन गर्ने बेला आएको छ । स्मृति मन्तव्य राख्दै वडा नं.१५ का अध्यक्ष एवं वित्त समितिका संयोजक ईश्वरमान डंगोलले भने, ‘अहिले शरिर त्याग गर्नु पर्ने अवस्था छैन । काम गर्दा नागरिकको हितलाई केन्द्रमा राखे मात्र पुग्छ ।’

त्यस क्रममा वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, क्रुर यातनापछि पुस्ताको स्वतन्त्रताको आशा राखेर प्राण आहुति गर्ने सहिदहरुको सपनामा घात गर्न नहुने बताए ।

हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । त्यसबखत कायल गराएर प्राणदण्ड नदिन शासकहरुले एकअर्काले देख्ने गरेर घुँडाभन्दा तल गोली हानेका थिए । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएपछि उहाँहरुलाई ज्यान जाने गरी गोली ठोकिएको थियो ।

बैतडीमा जन्मिनुभएका दशरथ चन्दले, भारतमा महात्मा गान्धीले सुरु गर्नुभएको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै रामेछापको भंगेरीमा जन्मिनुभएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो । इन्द्रचोकमा भएको नेपालको पहिलो राजनीतिक सभामा श्रेष्ठले स्वतन्त्रताका पक्षमा भाषण गर्नुभएको थियो ।

चन्द मनको दयालु तर आँटिलो हुनुहुन्थ्यो । नेपाल प्रजा परिषदको नाम उहाँले नै प्रस्ताव गर्नुभएको थियो । चन्दका राजनीतिक क्रियाकलापबाट गंगालाल श्रेष्ठ पनि प्रभावित हुनुहुन्थ्यो । प्राणदण्ड पाउने भएपछि गंगालालले पितालाई पत्र लेख्दै भन्नुभएको थियो, ‘हजुरका अरु पनि छोरा छन् । एउटा छोरालाई राष्ट्रको स्वाधीनताका लागि त्याग गरिदिनोस् ।’

श्रेष्ठ र चन्दलाई ज्यानदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको शालिक र पूर्ण कदका शालिक राखिएका छन् । तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते स्तम्भ अनावरण गरेको थियो । त्यही ठाउँमा चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी अर्धकदका सालिक स्थापना गराए ।

महानगरपालिकाले २०७६ सालमा दुवै सहिदको पूर्ण कदका शालिक राखेको छ । नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिँदै उहाँहरुले स्वीकार गर्नुभएको मृत्युदण्डलाई चीरस्मरणमा राख्न र पुस्तालाई इतिहासको जानकारी दिइराख्न महानगरले सदाहत प्राप्त स्थानमा सालिक बनाएर संरक्षण गरेको हो ।

यस वर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान टेकु मचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो ।

सहिद दिवसको अन्तिम दिन शुक्रबार बिहान ०८ बजे शान्तिवाटिकाबाट प्रभातफेरी भएको छ । ९ बजे सहिद स्मारक लैनचौर स्मृति सभा भएको छ । सभामा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरु आउने कार्यक्रम छ । शुक्रबार नै वडा नं. २३ ले ओमवहालमा रहेको धर्मभक्त माथेमा पार्कमा स्मृति सभा गर्ने कार्यक्रम तय गरेको छ ।

Health Tips Ad Road Block