काठमाडौं । होटल फरेष्ट इन लिमिटेडको आईपीओ आज माघ ४ गते देखि निष्काशन तथा बिक्री खुला भएको छ । होटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । होटलले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओको निष्काशन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आईपीओ खरिदका लागि आवेदन दिन सक्नेछन् ।






















