Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माघ १ गते भोलि देशभर एघारौं राष्ट्रिय योग दिवस–२०८२ मनाइँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । ‘स्वस्थ्य समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नाराका साथ भोलि माघ १ गते देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी एघारौं राष्ट्रिय योग दिवस मनाइने भएको छ । नेपाल सरकारले प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरेअनुरूप यस वर्ष पनि संघीय, प्रदेश र स्थानीय स्तरमा विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

मुख्य कार्यक्रमहरूः

प्रभातफेरी तथा मूल समारोहः

माघ १ गते बिहान स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, विभिन्न योग संस्थाहरू र नागरिक समाजको सहभागितामा विशेष प्रभातफेरी र औपचारिक कार्यक्रमको आयोजना गरिनेछ।

योग शिविरहरूः

देशभरका सार्वजनिक उद्यान, विद्यालय र सरकारी कार्यालयहरूमा निःशुल्क योग तथा ध्यान शिविरहरू सञ्चालन गरिनेछ।

अन्तरक्रिया तथा प्रवचनः

योगको वैज्ञानिक महत्त्व, शारीरिक एवं मानसिक स्वास्थ्यमा यसको प्रभाव र नसर्ने रोगहरूको रोकथाममा योगको भूमिकाबारे विज्ञहरूसँग छलफल गरिनेछ।

वि‌द्यालयस्तरमा चेतनाः

वि‌द्यार्थीहरुलाई अनुशासित र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उ‌द्देश्यले विद्यालयहरूमा विशेष योग सत्रहरू सञ्चालन गरिनेछ ।

दिवसको उ‌द्देश्यः

योग केवल व्यायाम मात्र नभई जीवन जिउने कला र पद्धति पनि हो। नेपाली भूमि योगको उद्‌गम स्थल रहेको तथ्यलाई शिरोधार्य गर्दै, योगलाई प्रत्येक नागरिकको दैनिक जीवनको हिस्सा बनाउनु र यसका माध्यमबाट स्वस्थ्य समाज र समृद्ध नेपाल निर्माणमा टेवा पुऱ्याउनु यस दिवसको मुख्य लक्ष्य रहेको छ। साथै, योगले प्रदान गर्ने मानसिक शान्ति र सकारात्मक ऊर्जाले ‘विश्व शान्ति’ का लागि समेत मार्गप्रशस्त गर्ने विश्वास लिइएको छ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुको सक्रिय समन्वय र सहकार्यमा यस वर्षको योग दिवसलाई जनस्तरसम्म पुऱ्याउने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

योग सेवाको विस्तार र उपलब्धि

नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । यसै अनुरूप योग सेवालाई पनि आधारभूत स्वास्थ्य सेवाको अभिन्न अङ्गका रूपमा समावेश गरिएको छ ।

सेवा विस्तारः

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग मार्फत हाल देशभरका सबै आयुर्वेद स्वास्थ्य संस्थाहरुबाट नियमित रूपमा प्रवद्र्‌धनात्मक योग सेवा प्रदान गरिँदै आएको छ ।

उपचारात्मक योगः

रोग रोकथामका साथै विशिष्ट स्वास्थ्य समस्या भएका नागरिकहरुका लागि आयुर्वेद संस्थाहरूबाट ‘थेराप्यूटिक योग’ (उपचारात्मक योग) सेवा समेत सञ्चालन भइरहेको छ ।

तथ्याङ्क

आर्थिक वर्ष २०८९/०८२ मा मात्रै देशभरका आयुर्वेद स्वास्थ्य संस्थाहरूबाट कुल २१,९०,००० (एकाइस लाख नब्बे हजार) सेवाग्राहीहरूले प्रत्यक्ष रूपमा योग सेवा प्राप्त गर्नुभएको छ, जसले योगप्रतिको बढ्‌दो जनविश्वासलाई पुष्टि गर्दछ ।

विद्यालय र स्थानीय तहमा योगको विस्तारः

योगलाई नागरिकको जीवनपद्धति बनाउने उद्देश्यका साथ विभागले विशेष प्राथमिकताका साथ सेवा विस्तार गरिरहेको छ ।

विद्यालय आयुर्वेद तथा योग कार्यक्रमः नयाँ पुस्तामा योगको महत्त्व पुऱ्याउन विभागले वि‌द्यालय स्तरमै योग सेवा प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसले वि‌द्यार्थीहरूको शारीरिक विकास र मानसिक एकाग्रता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

नागरिक आरोग्य सेवा केन्द्रः

देशभरका ७५३ वटै स्थानीय तहमा स्थापना गरिएका नागरिकआरोग्य सेवा केन्द्रहरुमार्फत आधारभूत स्वास्थ्य सेवा अन्तर्गत नियमितरूपमा योग सेवा प्रवाह भइरहेको छ। यसले ग्रामीण स्तरसम्मै योगको पहुँच पुऱ्याएको छ।

स्थानीय तहको भूमिका र आवश्यकता

नेपालको संघीय संरचना अनुसार आधारभूत स्वास्थ्य सेवाको व्यवस्थापन र सञ्चालनको मुख्य अधिकार स्थानीय तहमा निहित छ । योग सेवालाई प्रत्येक नागरिकको पहुँचमा पुऱ्याउन ७५३ वटै स्थानीय तहले आफ्नो कार्यक्षेत्र भित्रका स्वास्थ्य संस्थाहरुबाट अनिवार्य रूपमा योग सेवा प्रदान गर्नु अपरिहार्य देखिएको छ ।

स्वास्थ्यमा योगको महत्व

वर्तमान समयमा बढ्‌दो आधुनिक जीवनशैलीका कारण नसर्ने रोगहरू र मानसिक स्वास्थ्य ठूलो चुनौतीको रुपमा देखा परेका छन् ।

योगलेः

१. नसर्ने रोगहरू (उच्च रक्तचाप, मधुमेह, मोटोपना आदि) को नियन्त्रण र व्यवस्थापनमा सहयोग गर्छ ।

२. तनाव कम गरी मानसिक स्वास्थ्य संवर्धनमा महत्वपूर्ण भूमिका खेल्छ ।

३. शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी स्वस्थ समाज निर्माणमा मद्दत पुऱ्याउँछ ।

आयोजकले राष्ट्रिय योग दिवसका अवसरमा आयोजना हुने विभिन्न योग शिविर, गोष्ठी तथा सचेतनामूलक कार्यक्रमहरूमा सक्रिय सहभागी भई ‘स्वस्थ समाज र समृद्ध नेपाल’ निर्माणको महाअभियानमा साथ दिन सबैलाई आग्रह गरेको छ ।

Health Tips Ad Road Block