skip this News Page Tips Ad Road Block

नेपाल दूरसञ्चार कम्पनीको साधारण सभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा आज (२०८२ पुस ३० गते) सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८१।८२ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

साधारणसभामा करिब ९१.५६ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको अठारौँ वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धी वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदाझैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताइन् ।

कम्पनीले भावी दिनमा मेघा परियोजना सञ्चालन गर्नु पर्ने र थप पुँजी आवश्यक हुने अवस्थामा बोनस शेयर समेत उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष अर्यालले भनिन्, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु. ३८ अर्ब १९ करोड आम्दानी गरी रु. ६ अर्ब नाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कूल आयमध्ये रु. १८ अर्ब ४६ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको छ ।’ यसका साथै उनले जोखिम न्यूनीकरणको लागि आय सुनिश्चितताको परीक्षण, कार्यसम्पादन परीक्षण तथा प्राविधिक परीक्षणको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको जानकारी गराउँदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा खेलकुद लगायतका क्षेत्रहरुमा सदाझैँ सहयोग उपलब्ध गराउँदै आएको बताइन् ।

सो कार्यक्रममा देशभित्र आम ग्राहक र सरोकारवालाहरुको फाइभ जी सेवालाई उपभोग गर्ने तीव्र आकांक्षा रहेको उल्लेख गर्दै उनले कम्पनी निकट भविष्यमा नै देशको राजधानी लगायत ठूला शहरहरुबाट फाइभ जी सेवा सुचारु गर्ने प्रक्रियामा रहेको बताइन् । देशको भौगोलिक अवस्था र सापेक्षित रुपमा अन्य पूर्वाधारहरुको पहुँच विस्तार हुन नसकेको अवस्थामा कम्पनीले सेवाभावबाट प्रेरित भई सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन फोरजी/एलटीइ प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटिटिएच् सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिंदै आएको उनले बताइन् । वि.सं. २०८२ असोज मसान्तसम्ममा सातै प्रदेशका ७७ जिल्लाका कुल ७४९ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार फोरजी÷एलटीइ सेवाको पहुँच विस्तार भएको छ । २०८२ असोज महिनासम्ममा देशका ७७ वटै जिल्लामा उच्च गतिको एफटिटिएच् सेवा विस्तार भएको छ । उनले समीक्षा अवधिमा टूजीतर्फ १४३ तथा फोरजी तर्फ १०९ वटा बीटीएसहरु थप गरी हालसम्म टूजी तर्फ ४,५४२, घजी तर्फ २,९९४ र फोरजी तर्फ ४४३७ वटा बीटिएस् सञ्चालनमा रहेको बताइन् ।

अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर हाइ ब्याण्डवीथ कनेक्टिभिटी विस्तार गर्ने र कन्टेन्टमा आधारित भ्यालु एडेड सर्भिसको विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको उल्लेख गर्दै उनले ग्रामीण दूरसञ्चार विकास कोषबाट प्राप्त सहयोगलाई अधिकतम प्रतिफल प्राप्त हुनेगरी परिचालन गर्ने प्रयत्न स्वरुप कोशी, मधेश र बागमती प्रदेश अन्तर्गतका मध्यपहाडी लोकमार्ग, जिल्ला सदरमुकाम जोड्ने विभिन्न मार्गमा अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने कार्यक्रम अन्तर्गत आ.व. २०८१/८२ को अन्त्यसम्ममा कूल ८,८३४ किलोमिटर नेटवर्क विस्तार भएको बताइन् ।

दूरसञ्चारको प्रतिस्पर्धात्मक बजारमा कम्पनीलाई सक्षम संस्थाको रुपमा विकास गर्न कम्पनीको आन्तरिक कार्यवातावरणलाई चुस्त र प्रभावकारी बनाउँदै निर्णय प्रक्रिया, कार्यशैली र संस्थागत संरचना सुधारका लागि विद्यमान नीति नियमलाई आवश्यकता अनुरुप व्यावहारिक र समयसापेक्ष बनाउँदै लगिएको बताउँदै विश्वभर नै भ्वाइस सेवाको माग तथा प्राप्त हुने राजस्वमा गिरावटको साथै ओटीटीजस्ता सेवाले परम्परागत सेवालाई थप चुनौती दिएकोले प्रविधिमा आएको परिवर्तन कम्पनीबाट प्रवाह हुने सेवामा पनि तादात्म्यता मिलाउन प्रयासरत रहेको उनले बताइन् ।

अध्यक्ष अर्यालले डाटा सेवा तर्फ दिनानुदिन ग्राहक आकर्षण बढ्दै गइरहेको सन्दर्भमा डाटाको गुणस्तर सुधार गरी लागत प्रभावी बनाउँदै कुशल रणनीतिका साथ बजार हिस्सा बढाउन विशेष प्रयत्न गरिने उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरुसँग सम्बन्ध स्थापित गरी कम्पनीको हित अनुकूल हुनेगरी साझेदार संस्थाहरुसँगको सहकार्य समेतमा भ्यालु एडेड सर्भिस एण्ड कन्टेन्ट बेस्ड सर्भिस विस्तार गरिने बताइन् ।

कम्पनीका अध्यक्षले साधारणसभामा शेयरधनी महानुभावहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उनीहरुले दिएका विभिन्न सुझावहरुको क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

कम्पनीले अठारौँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आज (२०८२ पुस ३० गते) देखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको प्रवक्ता
रविन्द्र मानन्धरले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block