Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

केटीएम हस्पिटालिटीले १५ करोड ५० लाखको आईपीओ ल्याउँदै, साधारण सभाले पारित गर्यो प्रस्ताव

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चितवनको सौराहामा पाँच तारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको केटीएम हस्पिटालिटी लिमिटेडले १५ करोड ५० लाख रुपैयाँको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने भएको छ ।

बुधबार सम्पन्न कम्पनीको दोस्रो साधारण सभाले पुँजी संरचना परिवर्तनसहित आईपीओको महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले आईपीओ निष्काशनको प्रस्तावलाई स्वीकृति दिएको हो ।

पारित प्रस्ताव अनुसार कम्पनीको नयाँ पुँजी संरचना पनि तयार पारिएको छ । अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७७ करोड ५० लाख र चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहने छ । कम्पनीले १५ करोड ५० लाख रुपैयाँको आईपीओ सर्वसाधारणका लागि जारी गर्ने भएको हो । यो भनेको कम्पनीको कुल चुक्ता को पुँजी २० प्रतिशत हो ।

हाल केटीएम हस्पिटालिटीले चितवनको सौराहामा ६५ कोठा क्षमताको पाँच तारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको छ। पर्यटकीय गन्तव्यका रूपमा चर्चित सौराहामा सञ्चालित यो लक्जरी रिसोर्टले होटल व्यवसायमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ ।

साधारण सभामा केटीएम ग्रुपको ब्राण्ड एम्बेसेडर वरिष्ठ कलाकार सन्तोष पन्तको विशेष उपस्थिति रहेको थियो । यस्तै कम्पनीले नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।

संस्थाका अध्यक्ष रामेश्वर शाहले नेपालको आथित्यता उद्योगले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको बताए । हस्पिटालिटी क्षेत्रमा निरन्तर लगानी बढ्नुले यो क्षेत्रमा सम्भावनालाई उजागर गरेको अध्यक्ष शाहको भनाइ छ ।

त्यसैगरी उनले केटिएम हस्पिटालिटीमा सर्वसाधारणलाई समेत सहभागिता गराएर अघि बढ्न लागेको बताए । ‘सर्वसाधारणलाई पनि पार्टनरसीप बनाएर लैजान २० प्रतिशत आइपिओ ल्याउन लागेका हौं’ उनले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको पर्यटन क्षेत्रले उल्लेखीयरुपमा फड्को मारेको बताए । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि केन्द्रीय बैंकले निरन्तर सहयोग गरिरहेको उनको भनाइ छ । कोभिडका बेला होस्, वा जेनजी आन्दोलनका क्रममा यस क्षेत्रमा पुगेको क्षतिलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले निर्देशनमार्फत काम गरेको बताए ।
केटीएम हस्पिटालिटीको आईपीओ निष्काशन नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको विकासमा महत्वपूर्ण कदम मानिएको छ । यसले होटल उद्योगमा सार्वजनिक लगानी बढाउने र पर्यटन पूर्वाधार विस्तारमा योगदान र्पुयाउने अपेक्षा गरिएको छ ।

विश्वव्यापी ब्राण्डको नेपालमा स्वदेशीकरण

‘होटल निर्माणका क्रममा स्वदेशी उत्पादनको अधिकतम प्रयोग गरिएको थियो । त्यसैगरी, जनशक्ति पनि स्वदेशी नै उपयोग गर्ने नीति अनुरुप अन्तर्राष्ट्रिय अनुभव बटुलेका तिमल्सिनालाई नियुक्त गरेको हो,’ केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहले भने, ‘फ्रान्सको प्रख्यात लुभ्र होटल्स ग्रुपसँग सहकार्य गरेर चितवनमा खुलेको होटलमा प्रायजसो जनशक्ति नेपाली नै छन् । प्राविधिक जनशक्ति ब्राण्डसँग समन्वय र परामर्शमा लिइएको हो ।’

रोयल टुलिपः विश्वस्तरीय आतिथ्यताको प्रतिक

रोयल टुलिप फ्रान्सको लुभ्र होटल्स ग्रुपअन्तर्गतको प्रिमियम ब्राण्ड हो, जसले विश्वभर ७० भन्दा बढी देशमा १ हजार ७५६ भन्दा बढी होटल सञ्चालन गरिरहेको छ । युरोप, एसिया, अफ्रिका र मध्यपूर्वमा आफ्नो उपस्थिति जमाइसकेको यो ब्राण्डले लक्जरी आवास र उत्कृष्ट सेवाका लागि अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेको छ ।

रोयल टुलिप ब्राण्डले विशेष गरी आफ्ना पाहुनालाई स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय मापदण्डको सुन्दर समन्वय प्रदान गर्ने रणनीति अपनाउँदै आएको छ । यही मोडलअनुसार नेपालमा पनि स्थानीय संस्कृति र विश्वस्तरीय सुविधाको अद्भुत मेलमिलाप गराइएको छ ।

कोभिड–१९ महामारीको सुरुवात २०७७ साल मंसिर (सन् २०२० अन्त्यतिर)मा तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई र श्रम मन्त्री रामेश्वर राय यादवले भव्य समारोहबीच यस शिलान्यास गरेका थिए । अत्यन्त चुनौतीपूर्ण समयमा पनि यो परियोजना अगाडि बढ्नु नेपाली पर्यटन क्षेत्रको दृढता र सम्भावनाको प्रमाण हो । चितवन राष्ट्रिय निकुञ्जको किनारमा अवस्थित ४ एकड भन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा सुन्दर ढंगले डिजाइन गरिएका आवासहरू रहेका छन्। विशेष पुल भिला, वाटर भिला र मचान सुइटहरूले मनमोहक दृश्य र विलासी सुविधा प्रदान गर्दछन् ।

रिसोर्टका प्रमुख आकर्षणः

१) अन्तर्राष्ट्रिय मापदण्डको स्पा र वेलनेस सेन्टर
२) आधुनिक फिटनेस सेन्टर
३) रमणीय पौडी पोखरी
४) फरेस्ट फ्लेम रेस्टुरेन्ट
५) मचान लाउन्ज
६) जीवन्त तनाबी स्पोट्र्स बार
७) शिशुकुञ्ज (बच्चाका लागि खेल्ने स्थान)
८) बोटिङ तथा फिसिङ सहित सुविधायुक्त पानी पोखरी घर
९) झण्डै डेढ किलोमिटरको वाकिङ ट्रेल तथा हेलिप्याड

आदिम कालदेखि चितवन क्षेत्रमा बसोबास गर्दै आएका माझी र थारु समुदायको सम्पन्न संस्कृतिलाई जीवन्त राख्न ‘माझीघर’ निर्माण गरिएको छ, जसले अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाली संस्कृतिको प्रामाणिक अनुभव प्रदान गर्नेछ ।

अन्तर्राष्ट्रिय मापदण्ड, नेपाली पहिचान

रोयल टुलिप चितवनले विश्वस्तरीय गुणस्तर र उत्कृष्ट आतिथ्यता प्रदान गर्दै स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्ने मूल उद्देश्य राखेको छ । यसले विदेशी मुद्रा आर्जनमा वृद्धि ल्याउने मात्र नभइ स्थानीय रोजगारी सृजना, क्षमता विकास र सांस्कृतिक संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

Health Tips Ad Road Block